
बिहीवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा सङ्क्रमण देखा परेको बताएका हुन्।
उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड-१९ पोजिटिभ देखिएको बताए।
उनले भने, “दोहाबाट काठमाण्डू आएको QR 652 उडानमा आएका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो।”
यसअघि नेपालमा देखिएका पाँचैवटा कोभिड-१९ सङ्क्रमणका घटनामा विदेशबाट फर्किएका नेपालीहरू जोडिएको अधिकारीहरू बताउँछन्।
“कोभिड पोजिटिभ आएपछि गर्ने कार्यहरू चिकित्सकहरू र हाम्रा प्राविधिकहरूले गर्न थाल्नुभएको छ। यो भन्दा विस्तृत विवरण आउन बाँकी छ।”
हालसम्म ११ सय ८४ जनामा कोभिड-१९ को परीक्षण गराएको अधिकारीहरूले जनाएका छन्।
त्यसमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार जारी राखिएको अधिकारीहरूको भनाइ छ।
पहिलो सङक्रमण वुहानबाट फर्किएका नेपालीमा देखिएको थियो र उनी उपचारपछि निको भएर घर फर्किएको अधिकारीहरू बताउँछन्।