काठमाडौं : सरकारले नयाँ बानेश्वर चोकमा पनि अन्डरपास बनाउने भएको छ। चिनियाँ सहयोगमा कलंकीमा बनिरहेको अन्डरपासकै डिजाइनमा बानेश्वरमा पनि बनाउन लागिएको हो। यसअघि फ्लाइओभर बनाउने योजना रहेकामा सम्भाव्यता अध्ययनले माटोमा कमजोरी देखिएपछि बानेश्वरमा पनि अन्डरपास बनाउने निर्णय गरिएको हो।
अन्डरपास निर्माणको प्रक्रिया अगाडि बढाउन लागिएको सडक विभागको पुल महाशाखा प्रमुख अर्जुन थापाले जानकारी दिए। संघीय संसद् भवनदेखि बानेश्वर चोक अगाडिसम्मको करिब एक किमि क्षेत्रभित्र अन्डरपास बनाउन सम्भाव्यता अध्ययन थालिएको छ। अध्ययनका निम्ति सरकारले एक महिनाको समय दिएर दुई साता अगाडि नै आशयपत्र मागेको थियो। स्वदेशी र विदेशी कम्पनी गरी ८/१० वटाको आवेदनसमेत परिसकेको छ। अझै दुई साताको समय बाँकी रहेकाले त्यसपछि मात्रै कम्पनी छनोट हुने पुल विभागको भनाइ छ।
छनोटमा परेको कम्पनीले आगामी डेढ वर्षभित्रै विस्तृत परियोजना अध्ययन (डीपीआर) तयार पार्नेछ। यो अध्ययनबाट कस्तो अन्डरपास बन्ने भन्ने डिजाइन तयार हुनेछ। अन्डरपासको लागतसहतिको पूर्णप्रतिवेदन तयार हुने पनि थापाले जानकारी दिए।
संघीय संसद् भवनदेखि बानेश्वर चोक अगाडिसम्मको करिब एक किमि क्षेत्रभित्र अन्डरपास बनाउन सम्भाव्यता अध्ययन थालिएको छ।
अध्ययन प्रतिवेदन तयार भएपछि त्यसको तीन वर्षभित्रै बानेश्वर चोकमा अन्डरपास बन्ने भएको छ। यसका लागि सरकारले स्वदेशी र विदेशी स्रोत दुवै प्रयोग गर्न सक्ने गरी योजना अगाडि सारेको छ। प्रारम्भिक सम्भाव्यता अध्ययनबाट अन्डरपास बनाउन करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कलंकी चोकमा दुई तिर खोला भएकाले सहजै अन्डरपार बनाउन सकिएको छ। बानेश्वरमा पनि सोहीअनुसारको भू–बनोट भएकाले डीपीआरतर्फ जान लागिएको हो।
प्रत्येक एक किमिमा आकाशे पुल
उपत्यकाको चक्रपथमा हरेक एक किमिमा एउटा आकाशेपुल बनाइने भएको छ। सरकारले यात्रुलाई पाँच सय मिटरभन्दा कम पैदलयात्रा गरेर बाटो पार गर्न सकिने गरी प्रत्येक एक किमिमा एउटा आकाशे पुल बनाउन लागिएको पुल विभाग प्रमुख थापाले बताए।
उनका अनुसार यस्तो पुल विस्तारको काम सबैभन्दा पहिले चिनियाँ सरकारको अनुदानमा निर्माण भइरहेको कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको १० किमि क्षेत्रफको सडकबाट हुने भएको छ। यो सडक आगामी ६ महिनाभित्रै पूरा गरेर चिनियाँ कम्पनीले हस्तान्तरण गर्नेछ। सांघाइ कन्ट्रक्सनले बनाइरहेको यो सडकको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। अहिले चीनले ५० मिटर फराकिलो हुने गरी बनाएको आठ लिने हुने गरी निर्माण गरिरहेको यो १० किमिको सडकमा जम्मा तीन वटा आकाशे पुल राखेको छ। सरकारले यसमा थप सात वटा पुल बनाउने भएको छ।
एउटा पुलका लागि करिब तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सरकारले लागतअनुसार बजेट विनियोजन गरेको अवस्थामा डेढ वर्षभित्रै पुल बनाउन सकिने जानकारी थापाले दिए।
पुलको लागत तीन करोड रुपैयाँ हुँदा सरकारले मुस्किलले ३० लाख मात्रै बजेट दिने गरेकाले पनि निर्माण अवधि तोकिएको समयमा सम्पन्न गर्न गाह्रो छ। चिनियाँ सहयोगमा बनेको सडकमा निर्माण हुने नयाँ पुल पनि चिनियाँ डिजाइनसरह नै हुनेछ। सडक विस्तार पूरा हुँदा २७ किमिको चक्रपथमा २६ वटा आकाशे पुल बन्नेछन्।

Leave a Reply
You must be logged in to post a comment.