रातो मच्छिन्द्रनाथको भोटो जात्रा

  • 214
    Shares

रातो मच्छिन्द्रनाथको रथ जात्राअन्तर्गत आज आइतबार भोटो जात्रा देखाइँदै छ । गत बिहीबार रातो मच्छिन्द्रनाथको रथलाई थतीटोलबाट जावलाखेल पु¥याइएपछि आज भोटो जात्रा मनाउन लागिएको हो । भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । त्यस्तै, विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ।

रातो मच्छिन्द्रनाथको भोटो जात्रा बाह्रवर्षमा एकपटक मनाइदैं आएको छ । यो जात्रा ललितपुर बुङमतीस्थित जावलाखेलमा देखाइन्छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङमतीमा राखिने परम्परा छ भने हरेक बाह्रवर्षमा यहाँ पनि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिन्छ । यसका लागि पाटनको जावलाखेलबाट रथ तानी वुङमतीको जावलाखेलमा ल्याइन्छ । यसअघि रथलाई पाटन शहरमा ल्याएर जात्रा गरेपछि पुनः बुङमतीमा जात्रा गरेपछि सम्पन्न गर्ने प्रचलन छ । मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेवापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित् भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको छ । हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले ‘यो भोटो कसको हो’ भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिदै आएको छ । परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरूप नागराजले दिएको किंवदन्ती छ ।

आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले व्यापक खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा एकजना राक्षसले लगाएको देखेको बताइन्छ । ती कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच व्यापक विवाद हुनपुग्दा दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोकारूपमा उक्त भोटो राखिएको बताइन्छ । उक्त विवादलाई राजासमक्ष पुर्‍याइएपछि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा राजा र प्रजासमक्ष सम्पन्न गरिँदै आएको छ । करिब १४ सय वर्षपहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौं, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरूप कामाक्षाबाट मच्छिन्द्रनाथलाई नेपाल भित्र्याएको बताइन्छ ।

किम्बदन्ती
किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । नागराजले पुरस्कारस्वरुप बहुमूल्य मणि जडित भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो ।किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।

भूतले दिन नमानेपछि विवाद भयो।कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जन विश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान भने सकेको छैन ।


  • 214
    Shares

Comments

comments