११ महिनामा साढे पाँच लाख जनाले चढे चन्द्रागिरि केबलकार

चन्द्रागिरि ।

नेपालको दोस्रो केबलकार चन्द्रागिरिमा एघार महिनाको अवधिमा साढे पाँच लाख यात्रु चढेका छन् । यो केबलकारको औपचारिक उद्घाटन मंसिर ३० गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गरेका थिए। औपचारिक उद्घाटन अघिदेखिनै यात्रुहरुलार्इ केबलकार चढ्न खुला गरिएको थियो ।

चन्द्रागिरि हिल्सका अनुसार नयाँ वर्षको दिनमा मात्रै १० हजार यात्रुले केबलकार चढेका थिए। चन्द्रागिरि हिल्स एवं आर्इएमर्इ समूहका अध्यक्ष चन्द्र ढकालले ११ महिनाको अवधिमा साढे पाँच लाख यात्रुले केबलकारको यात्रा गरेको बताउँदै सरकारलार्इ ६ करोड रुपैयाँ राजस्व बुझाएको बताए।साढे तीन अर्ब रुपैयाँ लगानीमा निर्माण भएको चन्द्रागिरि केबलकारसहित विभिन्न संरचना उपत्यकाबासीका लागि घुम्ने गन्तव्य बनेको छ। आर्इएमर्इ र भाटभटेनी समूहको लगानीमा निर्माण भएको केबलकारसहित होटल समेत निर्माण हुँदैछ।

कम्पनीका संचालक अम्बिकाप्रसाद पौडेलले चन्द्रागिरि क्षेत्रको वनजंगल संरक्षण गरेर पूर्वाधार निर्माण गरिएको बताउँदै वनजंगल विना केबलकार लगायतका पूर्वाधारको कुनै अर्थ नरहेको समेत बताए। भाटभटेनी समूहका अध्यक्ष एवं चन्द्रागिरि हिल्सका संचालक मीनबहादुर गुरूङले चन्द्रागिरि केबलकार लगायत पूर्वाधारले पर्यटन प्रवर्द्धनसँगै मुलुकको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिने बताए ।
काठमाडौंको अग्लो स्थान मध्येको एक चन्द्रगिरि पहाडको उचाइ २५५१ मिटर रहेको छ । दक्ष प्रजापतिको यज्ञमा जलेर प्राणत्याग गरेकी पत्नीको शरिर बोकेर ब्रम्हाण परिक्रममा गर्ने क्रममा चन्द्रागिरिको चुचुरोमा महादेव पुग्दा सतिदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ ।
चन्द्रागिरी पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान समेत हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरीबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गरेको ऐतिहासिक रुपमा उल्लेख छ।