आज मंगलबार राती १२ बजेबाट लकडाउन हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको घोषणा गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चार महिनापछि लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् । 

लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए। सरकारले आज रातिबाट लक डाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन व्युटी पार्लर स्विमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए।

सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ।

सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो।