उपत्यकाका ५ स्थानमा सटर खोज्दै खाद्य संस्थान !

चन्द्रागिरि ।

नेपाल खाद्य संस्थानले राजधानीका पाँच स्थानमा बिक्री केन्द्र खोल्ने निर्णय गरे पनि भवन नभेटिएकाले खोल्न सकेको छैन । आफ्नो भवन नभएकाले बिक्री केन्द्र खोल्नका लागि संस्थानले भाडामा घर खोजिरहेको छ । साढे ३ महिनाअघि संस्थान सञ्चालक समितिको बैठकले राजधानीका पाँच स्थानमा बिक्री केन्द्र खोल्ने निर्णय गरेको थियो ।

संस्थानले बिक्री केन्द्र खोलेर उपभोक्तालाई सहुलियत मूल्यमा मुलुकका विभिन्न भामगा उत्पादित चामल, सिमी, फापरजस्ता कृषि उपज उपलब्ध गराउने योजना बनाएको छ । राजधानीका कलंकी, चक्रपथ, कोटेश्वर, ललितपुर र भक्तपुरमा व्यापार केन्द्र खोल्ने तयारी संस्थानको छ । हाल संस्थानले थापाथलीको अञ्चल कार्यालय र ललितपुरको नख्खुबाट चामललगायत कृषि उपज बिक्री गरिरहेको छ ।

संस्थानका बिक्री–वितरण विभाग प्रमुख शंकर सापकोटाले मुख्य सडकमा घरभाडा महँगो पर्ने भएकोले अहिलेसम्म भाडामा उपयुक्त घर नभेटाएको बताए । “हामीले पार्किङ, बत्तीलगायत निश्चित पूर्वाधार भएको स्थानमा बिक्री केन्द्र खोल्न लागेको छौं,” उनले भने, “तर अहिलेसम्म घर पाउन सकेका छैनौं ।” अझै एक महिना घर खोज्ने उनको भनाइ छ ।

उनका अनुसार उपत्यकामा रहेका विभिन्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भाडा निर्धारण समिति गठन भइसकेको छ । उक्त समितिले घरको भाडा टुंगो लगाउनेछ ।
अञ्चल कार्यालयका प्रमुख भेषनाथ न्यौपानले पनि राजधानीका मुख्य स्थानहरुमा घरभाडा महँगो रहेको बताए । “हाल बिक्री केन्द्र खेल्ने स्थानहरुमा घरभाडा दर करिब ६० हजार रुपैयाँ छ,” उनले भने, “मुख्य चोकभन्दा भित्र खोल्ने हो भने बिक्री नहुन सक्छ ।”

अञ्चल कार्यालयका कर्मचारीहरुका अनुसार राणाको पालामा स्थापना भएको संस्थानको मुख्य बिक्री केन्द्र थापाथलीबाट बढीमा दैनिक ३० हजार रुपैयाँसम्मको मात्र बिक्री हुने गरेको छ ।

त्यसलाई मध्यनजर गर्ने हो भने अब महँगो भाडामा खुल्ने बिक्री केन्द्रले निजी क्षेत्रहसँग प्रतिस्पर्धा गर्न सकेन भने संस्थान घाटामा जानेछ । निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नुपर्ने भएकोले चामल, सिमी, फापरलगायत कृषि सामग्रीको गुणस्तर, बजारीकरण आदि विभिन्न पक्षलार्ई समेत ध्यान दिएर आवश्यकता अनुसार सुधार गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।