घट्यो भाडा

चन्द्रागिरि ।

नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै निजी क्षेत्रका वायु सेवा संचालक कम्पनीहरुले आन्तरिक हवाई भाडा घटाएका छन् । आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नेपाली विमान कम्पनीहरुको छाता संगठन वायु सेवा संचालक संघले हवाई भाडा समायोजन गरेको हो । नागरिक उड्यन प्राधिकरणको स्वीकृति लिएर भोलि मध्यरातिदेखि लागु हुने गरी हवाइ भाडादर घटाइएको नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । सबैभन्दा धेरै इन्धन शुल्क सुगम रुटअन्तर्गत धनगढीको घटेको छ । काठमाडौं–धनगढीको एकतर्फी भाडाअन्तर्गत इन्धन शुल्कमा १ सय ८१ रुपैयाँ घटेको छ । नयाँ भाडादरअनुसार सबैभन्दा लामो दुरीको काठमाडौं– धनगढीको भाडा १२ हजार १९ र कम दुरीको सिमराको भाडा ३ हजार ४५ रुपैयाँ कायम गरिएको छ । यस्तै काठमाडौ–विराटनगर ७ हजार १ सय ४, काठमाडौं–भद्रपुर ८ हजार ६ सय ७६, काठमाडौं–भैरहवाको ५ हजार ९ सय १३ र काठमाडौं–तुम्लिङटारको नयाँ भाडादर ५ हजार ६ सय २३ रुपैयाँ निर्धारण भएको छ । काठमाडौं–नेपालगञ्ज ८ हजार ३ सय ६५ रुपैयाँ कायम गर्दै संघले काठमाडौं–जनकपुरको भाडा ३ हजार ९ सय ४८ र भरतपुरमा ३ हजार ५ रुपैयाँ तोकेको छ । संघले माउन्टेन उडानको भाडा घटाएर ११ हजारबाट १० हजार ८ सय ६२ रुपैयाँ कायम गरेको छ । संघका प्रवक्ता आचार्यले निगमले हवाई इन्धनको मुल्य घटाएपनि नियमानुसार संघको कार्यसमिति बैठकले हवाई भाडादर स्थान अनुसार घटाएको बताए।