चुल्ठो काटिएको हल्लाको पछि नलाग्न चिकित्सकको आग्रह

चन्द्रागिरि ।

रूपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतङ्कित छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम)को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको भागमा केही भागको कपाल पूरै काटिएको थियो । यस्तो घटनाबाट रूपन्देहीमा १५ जनाभन्दा बढी महिला पीडित बनेका छन् ।

रूपन्देहीमा मात्रै नभई कपिलवस्तुमा पनि यस्ता घटना बढ्दै गएका छन् । उनीहरूको कपाल कैँचीले काटिएको जस्तो देखिन्छ । तर, कसरी र कसले काटिदियो भन्ने खुलेको छैन । कपाल काटिएको देखेपछि बेहोश भएकी सुनिताले भैरहवाको भीम अस्पतालमा भनिन्, ‘केही समय टाउको झमझमाएजस्तो भयो । त्यति बेला न्याउरी मुसो आएको जस्तो लाग्छ । अाजकाे गाेरखापत्रमा खबर छापिएकाे छ।
एकै छिनमा रिँगटा लाग्यो । पछि होश आउँदा त कपालको चुल्ठो नै काटिएको रहेछ ।’उनका अनुसार बेहोश हुनुअघिसम्म चुल्ठो काटिएको थिएन । त्यसपछि कसले काटिदियो, उनले ठम्याउन सकिनन्।
अस्पतालका अहेव गोपाल उपाध्यायका अनुसार उनीहरूलाई मानसिक उपचार र औषधि दिइएपछि स्वास्थ्य सामान्य हुँदै गएको छ । उनका अनुसार भीम अस्पतालमा मात्रै १७÷१८ जना यस्ता खालका बिरामी आएका र उपचार गरी घर फर्किएका छन् । कपाल काटिनेमध्ये अधिकांश महिला तराई मूलका रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । भीम अस्पतालमा आएका घटनामध्ये पहाडी मूलकी महिला एकजनामात्रै आएको बताइएको छ ।
भारतमा पनि महिलाको कपाल काटिने घटनाले आतङ्क नै मच्चाएको छ । भारतको हरियाणा र राजस्थान राज्यमा ५० जनाभन्दा बढी महिलाको कपाल काटिएको खबर बाहिर आएको छ ।
रूपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले महिलाको कपाल कीराले काटेको बताउँदै कपाल काट्ने कीरालाई कपाल काट्दै गरेको बेला नियन्त्रणमा लिएको दाबी गरे । प्रहरीले बेथरीबाट उक्त कीरा समातेको बताएको छ ।
प्रहरीले यस्ता घटनामा घरकै कुनै सदस्य या महिलाको हात हुनसक्ने अनुमान गरिरहेको छ । महिला आफैले आफ्नो कपाल काट्ने काम गरेर आतङ्क सिर्जना गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।
अहिलेसम्म कपाल काटिएका महिलाको कपाल घरभित्रै काटिएको पाइएको छ । कपाल काटिएर उपचार गर्न आएकामध्ये केही महिला दुईतीन दिनको अन्तरालमा दोहोरिएर आएको चिकित्सकले जनाएका छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाका मानसिक रोग विशेषज्ञ डा.सञ्जीव रञ्जनले मास हिस्टेरिया नामक रोगका कारण यस्ता घटना बाहिर आएको बताए । चिकित्सकले हाउगुजीको पछि नलागी नडराईकन बस्न पनि सुझाएका छन् ।