च.न.पा ११ का व्यवसायीहरुले सुरक्षीत ढंग बाट ब्यापार संचालन गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौं – चन्द्रागिरि नगरपालिका वडा न ११ मा व्यापारीहरुले लामो समयदेखि जारी रहेको लकडाउनका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै प्रदर्शनमा उत्रिएका छन् ।

व्यवसायीले सुरक्षीत ढंग बाट ब्यापार संचालन गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले आवश्यक सतर्कता अपनाएर पसल खोल्न दिइनुपर्ने माग गरेका छन् । 

लकडाउनका कारण पसलहरू बन्द हुँदा व्यवसायीहरूले मारमा परेको गुनासो गर्दै आएका छन् । बजार बन्द हुँदा किसानले गरेका उत्पादनले समेत बजार नपाउँदा किसानहरू मारमा परेका छन् । कोरोना महामारीबाट जोगिन बजार बन्द गर्ने र सतर्कता अपनाएर खोल्नुपर्नेमा व्यवसायीहरूले दबाब दिन थालेका हुन्।

केही दिनयता आफूहरूले पसल खोलिरहेको व्यवसायीहरू बताउँछन् । बिहान निर्वाध पसल खोले पनि १२ बजेपछि भने प्रहरीले पसल बन्द गर्न दबाब दिने गरे पनि व्यवसायीले लुकिछिपी खोल्ने गरेका छन् । 

लकडाउनमात्रै लम्बिएपछि व्यापारीहरू आक्रोशित बनेका हुन्। लकडाउनमात्रै बढाएर आफूहरूले कसरी कर तिर्ने भन्दै उनीहरू झोक्किएका छन्। आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाउन सूचना निकालेको छ। सरकारले निर्णय गरी थपिएको समयभित्रै कर बुझाएर जरिवाना तथा ब्याजबाट उन्मुक्ति पाउन करदताहरुलाई आग्रह गरेको छ।

मुलुक ७२ दिनदेखि लकडाउनको अवस्थामा छ । सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि लकडाउन गरेको छ ।