नागढुंगा-नौबिसे सुरुङमार्गमा पर्ने गुठी जग्गाका मोहीले पनि मुआब्जा पाउने

काठमाडौं। सरकारले नागढुंगा-नौबिसे सुरुङमार्गमा पर्ने गुठी जग्गाको क्षतिपूर्ति दिने निर्णय गरेको छ। श्री ५ वायु गुठीका मोहीलाई ५० प्रतिशत क्षतिपूर्ति दिने निर्णय सरकारले गरेको हो।

जग्गाधनी प्रमाणपत्र नभएका तर गुठीको जग्गा भोगचलन गरिरहेकाहरुले पनि कूल मूल्यांकनको ५० प्रतिशत मुआब्जा पाउने भएका हुन्।

जग्गा भोगचलन गरेको प्रमाणका आधारमा त्यसरी भुक्तानी दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा अर्थ,सञ्चारमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

जग्गाधनीहरूले मुआब्जा पाउने तर गुठीको जग्गा भोगचलन मात्र गरेकाले क्षतिपूर्तिस्वरुप मुआब्जाको ५० प्रतिशत रकम दिने निर्णय भएको उनले बताए ।

जग्गाधनी प्रमाण पूर्जा नभएका तर मालपोत/नापी कार्यालयमा रहेको श्रेस्ता फिल्डबुकमा जनाउ रहेको आधारमा मोहीलाई क्षतिपूर्ति रकम दिने निर्णय सरकारले गरेको हो ।

यसअघि जग्गाधनीहरुले मुआब्जा पाएनि गुठीको जग्गा भोगचलन गरिरहेकाले नपाएको भन्दै आन्दोलन भएको थियो। नगरपालिकाका जनप्रतिनिधिहरुले समेत उक्त आन्दोलनमा साथ दिएका थिए।

आयोजनाका अनुसार धादिङतर्फ करिब १०९ रोपनी जग्गा आयोजनाको सीमाभित्र पर्छ। त्यसमध्ये ४४ रोपनी अधिग्रहण गर्नुपर्नेछ। करिब २५ रोपनी गुठीको जग्गा छ।