नेपालको वायु प्रदूषण स्तर ज्यादै खराब

नेपालको वायु प्रदूषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ । विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा गरेको हालै सार्वजनिक ‘इन्भाइरोमेन्ट पर्फमेन्स इन्डेक्स २०१८’ (ईपीआई) प्रतिवेदनअनुसार वायु प्रदूषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा छ ।

प्रतिवेदनमा वायु प्रदूषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको उल्लेख छ । भारत र बंगलादेश नेपालभन्दा बढी प्रदूषितको सूचीमा छन् ।

प्रतिवेदनले वायु प्रदूषणलाई विश्वमै प्रमुख वातावरणीय स्वास्थ्यको खतराको सूचकका रूपमा व्याख्या गरेको छ । विगतमा गरिएका विभिन्न अध्ययनले पनि नेपाल (काठमाडौं) सहित भारत (नयाँदिल्ली) र बंगलादेश (ढाका) वायु प्रदूषणका हिसाबले अग्रस्थानमा देखाउने गरेका थिए ।

१ सय ८० देशमध्ये स्विट्जरल्यान्डमा वायु प्रदूषणको गुणस्तर सबैभन्दा राम्रो रहेको अध्ययनको निष्कर्ष छ । उक्त देश पहिलो स्वच्छ मुलुकको सूचीमा परेको छ । अध्ययनले १८० मध्ये २४ देशमात्र वातावरणीय स्वास्थ्य/वायु प्रदूषणको मात्राका हिसाबले तोकिएको मापदण्डभित्र परेका छन् । वातावरण र स्वास्थ्यका १० ‘पार्टिकुलेट्स’ लाई आधार मानेर वातावरणीय अवस्थाबारे अध्ययन गरिएको हो ।

दक्षिण एसियाका नेपालसहित भारत र बंगलादेशको वायु प्रदूषणको गुणस्तर सबभन्दा खराब पाइएको छ । वायुको गुणस्तरका हिसाबले नेपालको स्तर ३१.४४ छ भने भारतको नेपालभन्दा कम ३०.५७ र बंगलादेशको २९.५६ छ । १८० देशमध्ये बुरुन्डीमा वायु प्रदूषणको गुणस्तर सबभन्दा खराब रहेको पाइएको छ । उसको स्तर २७.४३ मात्र छ । त्यस्तै, अफ्रिकी मुलुक कंगोको वायु प्रदूषणको गुणस्तर पनि खराबमध्ये परेको छ । उसको स्तर ३०.४१ मात्र छ । फ्रान्स, डेनमार्क, माल्टा र स्विडेन वायु प्रदूषणको गुणस्तर राम्रो हुने मुलुकमा समावेश छन् । ती देशमा अधिकांश यातायात विद्युतीय छन् भने वातावरणमैत्री यातायात व्यवस्थापन र सडक सञ्जालसमेत छ । ती देशमा प्रदूषण रोक्न साइकल प्रवद्र्धन गरिएको छ । नेपाललगायत एसियाली मुलुकमा यातायातका साधन नै प्रदूषणका मुख्य स्रोत हुन् । नेपालमा अधिकांश पुराना सवारीसाधन चल्ने र सडकको गुणस्तरसमेत कमजोर भएकाले प्रदूषण बढी हुने गरेको विशेषज्ञहरू बताउँछन् ।

ईपीआईको प्रतिवेदनअनुसार अमेरिका प्रदूषण गुणस्तरका हिसाबले २७ औं स्थानमा छ । सरसफाइ र वायुको गुणस्तरको मात्रा राम्रो भए पनि अमेरिकामा हानिकारक हरितगृह ग्यास उत्सर्जन अत्यधिक भइरहेको उल्लेख छ । वायु प्रदूषणको गुणस्तरका हिसाबले छिमेकी मुलुक चीन १२० औं स्थानमा छ ,आजको कान्तिपुर दैनिकमा समाचार छ ।