प्रधानमन्त्री ओलीले पाउन सकेनन् विश्वासको मत, गुम्यो प्रधानमन्त्री पद

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन ।

प्रतिनिधि सभाको विशेष अधिवेशनमा सोमबार भएको मतविभाजनमा प्रधानमन्त्रीको विश्वासको पक्षमा ९३ मतमात्रै परेको छ । विपक्षमा १२४ मत रहेको छ । तटस्थ मत १५ रहेको छ । मतविभाजनमा २३२ सांसद उपस्थित हुनुहुन्थ्यो ।

संविधानको धारा १०० (१) बमोजिम प्रतिनिधि सभामा विश्वासको मतको परीक्षण गर्नुभएको थियो । संविधानअनुसार प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्ने व्यवस्था छ ।

सत्तारुढ नेकपा एमालेले प्रस्तावको पक्षमा मतदान गरेको थियो भने प्रमुख विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले विपक्षमा मतदान गरेको थियो ।

संसदबाट विश्वासको मत नपाएसँगै ओली प्रधानमन्त्री पदबाट स्वतः पदमुक्त भएका छन् । संसदबाट विश्वासको मत पाउन नसकेको अवस्थामा प्रधानमन्त्री स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।