फेरि घट्यो इन्धनको मुल्य, पेट्रोल अब प्रति लिटर ९८ रूपैँया


चन्द्रागिरि ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । एलपी ग्यासको मुल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोल, डिजेल तथा मट्टितेलमा समान २ र हवाई इन्धनको मुल्यमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको निगमले जनाएको छ । घटेको मुल्य आजै राती १२ बजेबाट लागु हुनेछ । भारतीय आयल निगम (आइओसी) ले जुलाई १ मा पठाएको मुल्य सूची अनुसार पेट्रोलियम पदार्थको मुल्य समायोजन गरिएको निगमका बिक्री बितरण विभागका निर्देशक एवम् प्रबक्ता सिताराम पोखरेलले जानकारी दिनुभयो । मुल्य घटेसँगै अब एलपी ग्यासको मुल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ हुनेछ । यस्तै, पेट्रोल प्रतिलिटर ९८ रुपैयाँ, डिजेल र मट्टितेल समान ७४ रुपैयाँ, र हवाई इन्धन आन्तरिकतर्फको मुल्य प्रतिलिटर ८४ रुपैयाँ पुगेको निगमले जनाएको छ । आइओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मुल्यसूची पठाउँछ । सरकारले ०७१ असोज देखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मुल्य लागु गरेपछि अन्तर्राष्ट्रिय बजार अनुसार इन्धनको मुल्य समायोजन गर्नुपर्छ । यसअघि गत जुन १५ मा भारतले पठाएको मुल्यसूचीअनुसार निगमको पाक्षिक नाफा ४० करोड रुपैयाँ नाघेको छ ।