बजेट बढेपछि ट्राफिक लाइट जडान कार्यक्रम रद्द

चन्द्रागिरि ।

राजधानीका व्यस्त ३५ चोकमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ जडान गर्ने कार्यक्रम रद्द गरिएको छ। सरकारले राजधानीमा ट्राफिक जाम नियन्त्रण गर्न अत्याधुनिक ट्राफिक लाइट जडान गर्ने तयारी गरेको थियो। जसमा एसियाली विकास बैंक (एडिबी) ले ऋण र अनुदानमार्फत ५० करोड सहयोग गर्ने जनाएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको काठमाडौं दिगो सहरी यातायात आयोजनाले बोलपत्र आह्वान पनि गरेको थयो। तर, छनोट भएको ठेकेदार कम्पनीले बजेटभन्दा २३ प्रतिशत धेरै अर्थात् ६१ करोड ५० लाख रुपैयाँ लाग्ने प्रस्ताव ग¥यो। बढ्न पुगेको रकम एडिबीले दिन अस्वीकार गरेपछि ट्राफिक लाइट जडान कार्यक्रम नै रद्द गरिएको हो।

‘ट्राफिक लाइटको बजेट ५० करोड राखिएको थियो। तर, ठेकेदार कम्पनीको बजेट २३ प्रतिशत धेरै देखियो। बढेको रकम दिन एडिबी मानेन। त्यसपछि कार्यक्रम नै रद्द गरेका हौँ,’ आयोजना प्रमुख अनन्त आचार्यले भने। योजनाअनुसार काम अघि बढेको भए आउने कात्तिकसम्ममा सबै चोकमा ट्राफिक लाइट जडान भइसकेका हुने थिए। कार्यक्रम नै रद्द भएपछि ट्राफिक लाइट जडानसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहित सबै फाइल सडक विभाग पठाइएको छ।

यी स्थानमा जडान गर्ने तयारी थियो

काठमाडौं दिगो सहरी यातायात आयोजनाका अनुसार पहिलो चरणमा सोह्रखुट्टे चोक, लैनचौर, केशरमहल, वीर अस्पताल, सुन्धारा, चाइना टाउन हुँदै त्रिपुरेश्वर चोकमा ट्राफिक लाइट राखिने तयारी थियो। दोस्रो चरणमा नारायणहिटी चोक, दरबारमार्ग महेन्द्र सालिक चोक, घन्टाघर, रत्नपार्क, पुरानो बसपार्क हुँदै भद्रकाली चोकमा जडान गर्ने तयारी थियो। तेस्रो चरणमा जयनेपाल हल, कमलपोखरी, कमलादी, बागबजार, शंकरदेव क्याम्पस, सिंहदरबार, माइतीघर मण्डला हुँदै थापाथली चोकसम्म, चौथो चरणमा बबरमहल चोक, नयाँ बानेश्वर चोक, सिभिल अस्पताल हुँदै तिनकुने चोक, पाँचाैँ चरणमा लैनचौरको उत्तर चोक, शीतलनिवास, कान्ति बाल अस्पताल चोक हुँदै निर्मलनिवाससम्म र छैटौँ चरणमा कानदेवता चोक, शुक्रपार्क, पुल्चोक, जावलाखेल चोक हुँदै गोल्कुपाखा चोकमा ट्राफिक लाइट जडान गर्ने आयोजनाले जनाएको थियो।

चाडपर्वसँगै उपत्यकामा ट्राफिक जाम बढ्यो

नजिकिँदो चाडपर्वसँगै उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक जाम बढेको छ। विशेषगरी बजार, सपिङ मल तथा बसपार्क क्षेत्रमा ट्राफिक समस्या बढ्न थालेको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चाडपर्वमा सर्वसाधारणको आवागमन बाक्लो हुने भएकाले धेरै ट्राफिक जाम देखिएको छ। महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले उपत्यकाको सहरी क्षेत्रमा पछिल्ला दिनमा ट्राफिक जामको समस्या ह्वात्तै बढेको बताए। ‘चाडपर्व नजिकिँदै जाँदा उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक जाम बढेको छ। सर्वसाधारणको आवागमन बढ्ने भएकाले यसको प्रत्यक्ष प्रभाव यातायात साधनमा पर्छ,’ उनले भने।

कहाँ–कहाँ हुन्छ धेरै ट्राफिक जाम ?

महाशाखाका अनुसार न्युरोड, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, सहिदगेट, रत्नपार्क, केशरमहल, दरबारमार्ग, भृकुटीमण्डप, भद्रकाली क्षेत्रमा ट्राफिक जाम बढेका छन्। त्यस्तै, ठमेल, सोह्रखुट्टे, नयाँ बजार, गोंगबु, बालाजु, स्वयम्भू क्षेत्र, चाबहिल, गौशाला, बौद्ध क्षेत्र, कोटेश्वर, तिनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सातदोबाटो, कालिमाटी, बल्खु, कलंकी क्षेत्रमा ट्राफिक जामको समस्या अत्यधिक देखिने गरेको छ, नयाँ पत्रिकामा खबर छ ।

प्रवक्ता रञ्जितकारले चक्रपथ क्षेत्र र उपत्यकाको प्रमुख नाकामा ट्राफिक जाम बढेको बताए। ‘चाडपर्वमा उपत्यकाबाट बाहिरिने र भित्रिने सर्वसाधारणको संख्या अधिक हुन्छ। यसको सीधा असर नाकाको सवारी आवागमनमा पर्छ,’ उनले भने। महाशाखाका अनुसार चाडपर्वमा मेला तथा जात्रा लाग्ने तथा भिभिआइपीको आवागमनले ट्राफिक समस्या बढ्ने गरेको छ।

ट्राफिक प्रहरीको संख्या दोब्बर पारिने

चाडपर्वमा हुने गरेको ट्राफिक जाम नियन्त्रण गर्न महाशाखाले विशेष कार्यक्रम ल्याउने योजना बनाएको छ। अबको केही दिनमै सहरी क्षेत्रमा केन्द्रित गरी सडकमा खटिने ट्राफिक प्रहरीको संख्या दोब्बर पारिने महाशाखाले जनाएको छ। त्यसबाहेक मोबाइल टोली पनि परिचालन गरिनेछ। ‘चाडपर्वका वेला उपत्यकाको ट्राफिक समस्या निराकरण गर्ने काम चुनौतीपूर्ण छ। महाशाखाले चाँडै विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ,’ प्रवक्ता एसएसपी रञ्जितकारले भने, ‘पहिलो चरणमा सडकमा खटिने ट्राफिक प्रहरीको संख्या बढाउने र मोबाइल टोली परिचालन गरिनेछ।’

कति गुड्छन् उपत्यकाभित्र सवारीसाधन ?

यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा मात्रै १० हजार तीन सय ठूला बस गुड्छन्। मिनीबसको संख्या ९५ सय छ। चक्रपथ क्षेत्रमा सेतो र नीलो गरेर पाँच हजार माइक्रोबस र टेम्पो २५ सय २८ वटा गुड्छन्।