बालुवा र सिमेन्टपछि इँटाको भाउ बढाउने तयारी

बालुवा, सिमेन्ट, छड लगायतका निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिपछि इँटाको भाउ बढाउने तयारी भएको छ।

कोइला, मजदुरको ज्याला, ढुवानी खर्च बढेको र यसले उत्पादनको लागत बढाएको भन्दै उद्योगीले मूल्य बढाउने तयारी गरेका हुन्। भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाई ह्योम्बाले कोइला तथा ढुवानी खर्चमा मूल्य बढेपछि इँटाको भाउ बढाउन लागिएको जानकारी दिए।

‘कोइला र ढुवानी खर्च ह्वात्तै बढेको छ। त्यसमाथि नगरपालिकाले स्थानीय कर समेत थपेकाले मूल्य बढाउनै पर्ने भएको छ’, ह्योम्बाले भने।
उनका अनुसार गतवर्ष प्रति दस टन कोइलाको मूल्य २२ हजार ५ सय थियो भने यसपालि बढेर २७ हजार पुगेको छ। त्यस्तै २२ हजारमा हुने ढुवानी ३८ हजार नाघेको उनले बताए।

अघिल्लो वर्ष नगरपालिकालाई उद्योगले वार्षिक ७५ हजार रुपैयाँ कर तिर्नुपर्नेमा हाल बढेर तीन लाख हाराहारी पुगेको ह्योम्बाले दाबी गरे। उनले भक्तपुरमा प्रति एक हजार पिस इँटा बराबर दुई हजार रुपैयाँसम्मले लागत बढ्न गएको बताए।

भक्तपुरमा उत्कृष्ट मानिएको १ नम्वर इँटाको प्रति हजार पिसमा १४ हजार तथा दुई नम्बरको ११ हजार पर्दछ। तर अब भने एक नम्बरको १५ हजार र दुई नम्बरको १२ हजारसम्म पुग्ने ह्योम्बाले उल्लेख गरे। स्पष्ट मापदण्ड नहुँदा व्यवसायीले आफूखुसी भाउ तोक्न लागेका हुन्।

भक्तपुरका व्यवसायीले करिब ७ प्रतिशतले भाउ बढाउने तयारी गरिरहँदा जनकपुरका उद्योगीले भने २० प्रशितले मूल्य वृद्धि गर्न लागेका छन्।
जनकपुरस्थित भवानी इँटा उद्योगका सञ्चालक विनयकुमार यादवले सो क्षेत्रमा भाउ बढाउन लागिएको जानकारी दिए। यादवले कोइलाको दर तथा ढुवानी खर्चमा आएको परिवर्तनले भाउ बढ्न लागेको बताए।

यादवका अनुसार एउटा इँटा तयार हुँदासम्म लाग्ने लागतमा ५० प्रतिशत हिस्सा कोइलाको हुन्छ। ‘कोइलाबाटै काँचो माटो पोलेर इँटा बनाइने हुँदा समग्र उत्पादनलाई नै असर गरेको हो’ उनले भने ‘अर्कोतर्फ गत वर्ष भारतको गुहाटीबाट बिर्तामोड र त्यहाँबाट जनकपुरसम्म एक टन कोइला लिएर आउँदा ढुवानी खर्चसहित २२ हजार पर्थ्यो, यस वर्ष २७ हजार नाघेको छ।’

हाल जनकपुरमा एक हजार इँटाको मूल्य दश हजार रुपैयाँ छ जसलाई बढाएर १२ हजार पुर्याउन त्यहाँका उद्योगी एकमत भएका छन्। तर विभिन्न क्षेत्रका उद्योगीले यसरी मनपरी रुपमा भाउ बढाउन लाग्दा इँटा उत्पादकहरुको साझा संगठन भने अनविज्ञ देखिन्छ।

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले इँटाको मूल्य निर्धारण संगठनले नभएर बजार प्रतिस्पर्धा हेरेर व्यवसायी आफैले गर्ने भएकाले त्यसबारे कुनै जानकारी नभएको बताए।

‘महासंघले भाउ तोक्ने चलन छैन। व्यवसायीले बजार हेरेर आफै निर्धारण गर्नुहन्छ, यसको जवाफदेही संगठन हुँदैन’ चित्रकारले दाबी गरे।चित्रकारले इँटाको भाउ बढाउने बारेमा अनविज्ञता जाहेर गरिरहँदा स्वयम् उनको उद्योगले पनि मूल्य बढाउन लागेको छ।

उनको काठमाडौंमा उमा महेश्वरी चिम्नी उद्योग छ। पोहोरको तुलनामा लागत बढेकाले उद्योगले नै भाउ बढाउन सक्ने उनले बताए। ‘गत वर्ष बिर्तामोडबाट काठमाडौंसम्म कोइला ल्याउँदा प्रति केजी २ रुपैयाँ २० पैसा ढुवानी पर्न जान्थ्यो। यसपालि त्यो बढेर ४ रुपैयाँ २० पैसा पुगेको छ, कोइलाको प्रति केजी मूल्य १५ बाट २० रुपैयाँ पुगेको छ’ चित्रकारले भने। आफ्नो उद्योगले घाटा खाएर इँटा बेचिरहेको दावी गर्दै उनले मूल्य बढाउनुबाहेकको विकल्प नभएको तर्क गरे।

इन्जिनियर विपिन गैरेका अनुसार औसत २५ सय स्क्वायर फिटको एउटा अढाई तलाको घर बनाउनका लागि करिब ५० हजार इँटा आवश्यक पर्छ। त्यसको लागत करिब साढे ६ देखि साढे ७ लाखसम्म पर्न आउँछ। अहिले भनेजसरी मूल्य वृद्धि हुने हो भने सोही घर निर्माणको लागत डेढ लाखसम्म थपिन सक्ने उनले बताए।

तर पार्टेसनमा मात्र इँटा बढी प्रयोग हुने भएकाले हुन लागेको मूल्य वृद्धिले ठूलो असर नपर्ने चित्रकार दावी गर्छन्। घर बनाउँदा लाग्ने कुल खर्चमा ५ प्रतिशत मात्र इँटाको योग्दान हुने भएकाले ठूलो प्रभाव नपर्ने उनको बुझाई छ।

‘यदि कसैले एक करोडको घर बनाउँदै छ भने उसलाई १० लाखको इँटा भए पर्याप्त हुन्छ। यो मूल्य वृद्धिले सामान्य प्रभाव मात्रै पर्ने हो’ उनले भने।

इँटामा हुन लागेको मूल्य वृद्धि अनावश्यक भएको केही व्यवसायीहरु बताउँछन्। ‘असोजबाट इँटा बनाउन सुरु गरिन्छ। माघमा त फाइन प्रोडक्ट नै आइसक्छ। अहिले निस्किने इँटालाई नयाँ कोइलाको मूल्यले छुँदैन। त्यसैले अरुले बढाए भन्दैमा भाउ बढाउन खोज्नु गलत हो’ नाम नबताउने सर्तमा एक उद्योगीले भने।

उनको उद्योगले कुनै मूल्यवृद्धि नगर्ने भन्दै अन्य व्यवसायीलाई समेत अलिकति कम नाफा भएपनि भाउ नबढाउन उनले अनुरोध गरे। ‘अहिले कुनै घाटा छैन, अर्को लटमा इँटा आएपछि बरु भाउ बढाउनु उचित हुन्छ। यो मूख्य सिजनमा मूल्य यथास्थितिमै राखेर उपभोक्तालाई राहत दिनुपर्नेमा मेरो जोड छ’ उनले भने।

कोइला तथा क्लिङ्करको भाउसँगै ढुवानी खर्चसमेत बढेको भन्दै यसअघि व्यवसायीहरुले सिमेन्ट प्रतिबोरा एक सय र छड प्रतिकेजी १२ र बालुवा प्रति टिप्पर ४ हजार रुपैयाँसम्मले मूल्य बढाएका छन्।

तथ्यांक अनुसार हाल नेपालमा करिब एक हजारको संख्यामा इँटा उद्योगहरु सञ्चालनमा छन्। यी उद्योगहरुबाट वार्षिक रुपमा ३ अर्ब पिस इँटा उत्पादन हुन्छ।

तर बजारमा इँटाको माग त्यत्तिमै सीमित छैन। भूकम्प पश्चातको पुनर्निर्माणको लागि मात्र सरकारले १२ अर्ब पिस इँटाको आवश्यक्ता रहेको उल्लेख गरेको छ, जुन वार्षिक रुपमा स्वदेशमै भइरहेको उत्पादन भन्दा ४ गुणा बढी हो।

यसबाहेक विकास निर्माणका काम हुने मूख्य सिजन पनि यही नै हो। त्यसैले इँटामा हुने सामान्य मूल्य वृद्धिले समग्र अर्थतन्त्रमै असर गर्ने विज्ञहरुको भनाई छ।

सेतोपति