माघ १३ देखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

मुग्लिन–नारायणगढ सडक खण्ड दिउँसोको समयमा पुनः बन्द गर्न लागिएको छ । रातिको निर्माण कार्य प्रभावकारी नभएको भन्दै मुग्लिन–नारायणगढ सडक आयोजनाको आग्रहमा स्थानीय प्रशासनले यही माघ १३ गते शनिबारदेखि दिउँसो सडक बन्द गर्न लागेको हो । सडक आयोजनाको आग्रहमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म सडक बन्द रहने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

रातको काम प्रभावकारी भएन
सडक निर्माण कम्पनीले राति गरिएको बन्द प्रभावकारी नभएको जनाएको छ । राति सडक बन्द गरी निर्माणको काम गर्दा सवारीको चाप उच्च हुने र त्यसले दिनमा समेत काम गर्न समस्या सिर्जना गरेको ठेकेदार कम्पनीका व्यवस्थापक शिशिर कन्दङ्वाले बताए ।

आयोजनाले गएको पुस १८ गतेदेखि रातिको समयमा सडक बन्द गरेर काम गर्दै आएको छ । तर, राति गरिएको काममा रफ्तार नहुने समस्या रहेकोे सडक आयोजनाका इन्जिनियर पुष्कर शर्माले बताए । दिनमा ०.२७ प्रतिशत निर्माणको काम हुन्छ । तर, रातमा काम गर्दा त्यति पनि काम नहुने समस्या रहेको शर्माको भनाइ छ ।

दिउँसो गर्न लागिएको बन्दको विरोध
स्थानीय प्रशासन र निर्माण कम्पनीले दिउँसो सडक बन्द गर्न लागेकोप्रति यात्रुहरूले भने विरोध गरेका छन् । दिउँसो सडक बन्द गर्दा यात्रामा झन्झट बढ्ने भन्दै यात्रुहरूले राति नै काम गरेर दिउँसो सडक सञ्चालन गर्न माग गरेका हुन् ।

मुग्लिन–नारायणगढ सडक आयोजनाको आधिकारिक फेसबुक पेजमा गरिएको सर्वेक्षणमा ७३ प्रतिशत यात्रुले दिउँसो सडक बन्द गर्दा समस्या हुने भन्दै त्यसो नगर्न सुझाव दिएका छन् ।

१४ किमी सडक पिच भयो 
निर्माणाधीन मुग्लिन–नारायणगढ सडक खण्डमा करिब १४ किलो मिटर सडक कालोपत्रे भएको छ । यस खण्डको ३३ किमी सडकमध्ये १४ किमी पिच भएको हो । यस सडकलाई तीन खण्डमा विभाजन गरी निर्माण सडकको स्तरोन्नति र पिच गर्ने काम भइरहेको छ ।

आँपटारी–रामनगर साढे पाँच किमी सडक खण्डमा पिच भइसकेको छ । दासढुंगा–गाईघाट खण्डमा पनि साढे पाँच किमी पिच भएको छ । सिमलताल–मुग्लिन सडक खण्डमा पनि तीन दशमलव तीन किमी सडक पिच भएको इन्जिनियर शिव खनालले बताए ।

इन्जिनियर खनालका अनुसार आयोजनाको झण्डै ४२ प्रतिशत सडक खण्ड पिच भइसकेको छ । पिच ४२ प्रतिशत मात्रै भए पनि हालसम आयोजनाको कार्यप्रगति भने ७१ दशमलव २६ प्रतिशत रहेको दाबी आयोजनाले गरेको छ ।

जलवीरेमा पक्की पुल बन्दै
यस सडक खण्डको जलवीरेमा पक्की पुलको निर्माण थालिएको छ । जलवीरेमा ८० मिटर लामो पक्की पुल बन्न लागेको हो । पुल निर्माण भएपछि सडकको घुम्ती हट्नेछ भने सडक झण्डै तीन सय मिटर छोटिने आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

नारायणगढ–मुग्लिन सडक खण्डमा रहेका १८ वटा पुलको निर्माण चालू आर्थिक वर्षबाटै सुरु हुँदै छन् । चारवटा पुनर्निर्माणको ठेक्कासमेत लागिसकेको छ । दासढुंगा, खानी, मौरी र जलवीरेमा बन्ने पुलको सम्झौता भएको आयोजनाका इन्जिनियर खनालले जानकारी दिए ।

जलवीरेमा बन्न लागेको पुल १४ करोड रुपैयाँमा ठेक्का लागेकोे हो भने अन्य तीन पुलको कुल निर्माण लागत १३ करोड छ । लामा कन्स्ट्रक्सन र रौताहा निर्माण कम्पनीले पुल निर्माणको ठेक्का पाएका हुन् ।

सडक पिच हुँदा यात्रा सहज
१४ किमी मात्रै सडक पिच हुँदा पनि यात्रुले ठूलो राहत महसुस गर्न थालेका छन् । यात्राभर खाल्डाखुल्डीका कारण हैरान बन्ने गरेका यात्रु ठाउँ–ठाउँमा सडक पिच भएको पाउँदा खुसी हुने गरेको इन्जिनियर सुजन नेपालले बताए ।

तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको नारायणगढ–मुग्लिन सडक खण्डको पहिलो ठेक्का ६० करोड ६० लाख ६३ हजार, दोस्रो ९७ करोड ६६ लाख ८१ हजार र तेस्रो ठेक्का एक अर्ब ३० करोड ४२ लाख ६८ हजार रहेको छ ।