विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोष्टमार्टम सकियो

काठमाडौं । वंगलादेशको युएस बंगला विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि सनाखत म्याचिङ गर्न अब अर्को १५ घण्टा लाग्ने हुँदा मृतकका आफन्तले शव पाउन अझै कुर्नु पर्ने भएको छ ।

केही शवको सबै भाग जलेका कारण सबैजसो शव उस्तै देखिएकाले पहिचान खुलाउन डीएनए परीक्षण गर्नु पर्ने भएको छ । विमान दुर्घटनाको ४ दिन बितिसक्दा पनि शब नपाउदा आफन्तहरु आक्रोसित भएका छन् ।

४९ मध्य २३ वटा शवको औठा छाप लिइएको छ । यसले २३ शवको सनाखत हुन् सहयोग हुने भएको छ । केहि शवहरु भने अत्यधिक जलेका कारण पहिचान खुलाउन डीएनए नै गर्नु पर्ने भएको छ ।

डीएनए परिक्षणको लागि हरेक शबबाट दुइ दुइ वटा नमुना संकलन गरिएको छ । डीएनए परिक्षण गर्न पनि रगतबाटै परिक्षण भए १० दिन लाग्ने छ भने हड्डीबाट परीक्षण गर्नु परे ३ हप्ता लाग्ने छ । यसले पहिचान नखुलेका शव आफन्तलाई बुझाउन थप समय लाग्ने भएको छ।

यता बिमान दुर्घटनाका मृतकका आफन्त भने हरेक दिन शिक्षण अस्पताल पुग्ने गरेका छन् । घटनाको यत्रो दिन सम्म पनि शव नपाउदा पीडामाथि पीडा थपिएको भन्दै आफन्तहरु आक्रोशित बनेका छन् ।

विदेशी नागरिकको शव सम्बन्धित दूतावासलाई नै बुझाइने छ । पहिचान नखुलेको शवको संख्या फरेन्सिक विभागमा आधाभन्दा धेरै छन । डीएनए परीक्षण पछिमात्रै त्यस्ता शवहरु आफन्तलाई जिम्मा लगाइनेछ ।

फागुन २८ गते भएको विमान दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो । घाइते ३ जना भने उपचार पछि डिस्चार्ज भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ ।न्युज २४