सडक विस्तार गर्दा दिइने क्षतिपूर्ति बढाउने तयारी

चन्द्रागिरि ।

सरकारले सडक विस्तार गर्दा दिने क्षतिपूर्ति बढाउने भएको छ ।

उपत्यका विकास प्राधिकरणले घर पुर्ननिर्माण गर्न मिल्नेगरी क्षतिपूर्ति दिइने प्राधिकरणका आयुक्त डा. भार्इकाजी तिवारीले बताए। उनका अनुसार मालपोत कार्यालयको मूल्यांकन अनुसार जग्गाको मुआब्जा बढाइनेछ।सरकारले घर भत्काउँदा क्षतिपुर्ति स्वरुप दिदै आएको प्रतिवर्ग फिट २ हजार छ सय रुपैयाँलार्इ बढाएर ३ हजार रुपैयाँ बनाउने भएको छ । उनले प्रतिवर्गफिट चार सय बढाउने गरी शहरी विकास मन्त्रालयमा प्रस्ताव पठाइसकेको बताए ।

‘हामीले यो प्रस्ताव संसदको विकास समितिमा पनि राखेका छौ। त्यस्तै आइतबार मन्त्रालयमा पनि पत्र पठाएका छौ । भदौंसम्ममा निर्णय हुने अपेक्षा गरेका छौं,’ आयुक्त तिवारीले भने, बिजमाण्डुमा खबर छ । प्राधिकरणले गत जेठमा गरेको अन्तर्क्रिया कार्यक्रममा उपत्यकाका मेयर तथा उपमेयरहरुले घर भत्काउन पनि नपुग्ने गरि क्षतिपुर्ति दिएको भन्दै प्राधिकरणको तीव्र आलोचना गरेका थिए। उनका अनुसार उपत्यकामा अहिले ३ सय ६५ किलोमिटर सडक विस्तार सम्पन्न भएको छ ।

उपत्यकाको सडक निर्माणका लागि मात्र २ अर्ब ९४ करोड खर्च गरिसकेको प्राधिकरणले जनाएको छ।सडक विस्तारका लागि आएको रकममध्ये ७० देखि ७५ प्रतिशत घरको क्षतिपूर्ति दिनमै खर्च हुने गरेको उनले बताए।प्राधिकरणले काठमाडौमा ४ सय किलोमिटर,ललितपुरमा १ सय ३७  र  भक्तपुरमा १ सय ३० किलोमिटर सडक विस्तारको काम अघि बढाएको छ।

अहिले उपत्यकाभित्र  कुल १६ सय किलोमिटर सडक रहेको छ। उपत्यका सडक विस्तार आयोजनाका अनुसार चावहिल-जोरपाटी-साँखु, त्रिपुरेश्वर-कलंकी-नागढुङगा, सातदोबाटो-गोदावरी, इमाडोल-सिद्धिपुर-गोदावरी, लगनखेल-सातदोबाटो, ढोलाहिटी-सुनाकोठी-चापागाँउ, जोरपाटी-सुन्दरीजल लगायतका सडकमा मुआब्जाको विवाद छ । यहि कारणले सडक विस्तार अघि बढेको छैन्।