सतुंगलमा नि:शुल्क मास्क वितरण, नलगाउनेलाई एकसय जरिवाना

रोशन दानि,

कोरोनाभाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि चन्द्रागिरि नगरपालिकाको सतुंगलमा मास्कको प्रयोग गर्न छाडेपछि नि:शुल्क मास्क वितरण गरिएको छ।

महानगरीय प्रहरी प्रभाग बलम्वु, समुदाय प्रहरी साझेदारी वडा समिति ११ सतुंगल तथा ट्राफिक स्वंय सेवकले अनिवार्य मास्क लगाउन आग्रह गर्दै नि:शुल्क मास्क वितरण गरेका हुन्।

नगरका सतुंगल बजार, विष्णुदेवी,खरिबाेट,सिप्रदी बालकुमारी, बलम्वु,क्षेत्रमा समेत मास्क नलगाई पैदलयात्रा गर्नेलाई नि:शुल्क मास्क वितरण गरिएको समुदाय प्रहरी साझेदारी वडा ११ वडा संयाेजक हरिभक्त महर्जनले बताए।

नगरभित्र झण्डै ३ हजार थान बढी नि:शुल्क मास्क वितरण गरिसकिएको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख खेमराज राउतले बताए।

‘मास्क नलगाउनेलाई कारबाही समेत थालेका छौं’, उनले भने।

महानगरीय प्रहरी वृत्त थानकोटले मास्कबिना नै बजार र समुदायमा डुल्नेलाई एक पटकका लागि १ सय रुपैयाँ जरिवाना गर्न थालिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) घनश्याम श्रेष्ठले बताए।

प्रहरीले चन्द्रागिरिमा ‘खै मास्क ?’ अभियान नै चलाउने भएकाे छ। थानकोट प्रहरीले चित्लाङ नाका हुँदै सवारी पासबिना उपत्यका प्रवेश गर्ने विभिन्न निजी तथा भाडाका सवारीसाधन चालकलाई संक्रामक राेग ऐन २०२० अन्तर्गत कारबाही गर्ने गरेकाे छ।
यसैबीच कोभिड–१९ विरूद्ध जनचेतना बढाउन अनिवार्य रूपमा ‘मास्क लगाऊँ,सामाजिक दुरी कायम गराैं, जथाभावी नहिँडाै, जाेर-विजाेर प्रणाली अनुसार यात्रा गराैं भनेर प्लेकार्डसहित र्‍याली गरिएको थियो।