‘१५ दिनभित्र खाल्डा पुरियोस्, अावश्यक भए बजेट बढाइदिउँला’- प्रधानमन्त्री देउवा


चन्द्रागिरि ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान १५ दिनभित्र गर्न निर्देशन दिएका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईतबार सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजना लगायत सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर उक्त निर्देशन दिएका हुन् ।
‘तपार्इंहरुले आजै स्थलगत रुपमा गएर काम गर्न निर्देशन दिनुस्, बढीमा १५ दिनभित्र काठमाडौँका खाल्डाहरु पुर्नुहोस्, फुटेका ढलहरु बनाउनुहोस्, ढलेका बिजुलीको पोल गाड्नुहोस्’, उनले भने, ‘मैले अबको १५ दिनभित्र काठमाडौँमा खाल्डाखुल्डी देख्न नपरोस्, मलाई यसको जानकारी दिनुहोस् ।’
शुक्रबार राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयाँलको ढलको पानीले बगाएर निधन भएको र सामाखुसीमा बालिका सत्या सापकोटाको ढलको पानीले बगाउँदा उद्धार गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न निर्देशन दिएका हुन् ।
‘सरकार जनताका लागि बनेको हो, जनताको समस्यालाई हामीले कुनै हालतमा समाधान गर्नुपर्छ”, प्रधानमन्त्रीले भने ‘काठमाडौँमा सडक हो कि पोखरी चिन्न नसक्ने अवस्था छ, साना विद्यार्थी हिँड्दा हिँड्दै ढलमा पसेका छन्, खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ, तपाईंहरु के गरिरहनुभएको छ ? काठमाडौँ उपत्यकाका खाल्डा तत्काल पुर्नुहोस्, थप बजेट चाहिए म उपलब्ध गराउँछु ।’

प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाका नेपाल टेलिकम, विद्युत् प्राधिकरण र सडक विभागले समन्वय गरेर काम गर्न पनि निर्देशन दिए । ‘एउटै खाल्डो खनेर बनाउन सकिने कामका लागि तपाईंहरु किन तीन पटक खाल्डो खन्नुहुन्छ’, उनले भने, ‘अब समन्वय गरेर काम गर्नुहोस् ।’