
चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । नगरका १५ वटै वडामा दर्ता सहयोगीले बीमा दर्ता गर्न सुरु गरेको छ । चन्द्रागिरि नगरभित्र बसोबास गर्ने इच्छुक जो कोहीले सम्बन्धित वडाका प्रतिनिधि (दर्ता सहयोगी) मार्फत स्वास्थ्य बीमाका लागि आ-आफ्नो नाम टिपाउन सक्नेछन् ।
नगरपालिकाले बीमित लागि चन्द्रागिरि–४ स्थित थानकोट प्राथमिक अस्पतालमा सेवा लिन सक्ने जनाएको छ । बीमा आबद्ध भइसकेपछि रु एक लाखसम्मको सेवा निःशुल्क प्राप्त गर्न सकिने छ । ती सेवामा आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक सेवा तथा तोकिएका औषधि निःशुल्क प्राप्त गर्न सकिने जनाइएको छ ।
यसका लागि तीनजनासम्मका परिवारले रु तीन हजार पाँचसय योगदान रकम तिर्नुपर्नेछ । अतिगरिब, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, फरक क्षमता भएका (अपाङ्गता) र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सो योगदान रकममा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।
हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक सहरी स्वास्थ्य केन्द्र तथा १० स्वास्थ्यचौकीमार्फत नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिराखेका छ । यी स्वास्थ्य सस्थामा सरकारको मापदण्डअनुसारका प्रयोगशालाको पनि सुविधा छ ।