उठ्न थाल्याे उपत्यकाबाट फाेहाेरकाे डंगुर, उठि सक्न एक हप्ता लाग्ने

काठमाडाैं । फाेहाेरका डङ्गुरले हिड्नै नसक्ने अवस्था भइसकेकाे थियाे उपत्यका, फाेहाेरका डङ्गुर बढेका बढै थिए । महानगर अन्देखा गरेर बसिरहेकाे थियाे । तर, थुप्रिएकाे १८ दिन पछि फाेहाेर उठ्न थालेकाे छ ।

कामपासहित काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा विगत १८ दिनदेखि रोकिएको फोहर आजदेखि व्यस्थापन गर्न थालिएको भए पनि मौसमले साथ दिए सबै फोहर उठ्न करिब एक हप्ता लाग्ने काठमाडाैं महानगरले बताएकाे छ ।

मंगलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, वरिष्ठ प्रहरी उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको थियो ।

फाेहाेर आज देखि उठ्न थाले पनि उपत्यकामा फाेहाेर कमि भएकाे महसुश भने गर्न सकिने अवस्था छैन, फाेहाेरका डंगुर जस्ताकाे त्यस्तै छन् । प्रमुख शाक्य भन्नुहुन्छ ‘फोहर व्यवस्थापन गर्ने जिम्मेवारी कामपाको मात्रै हैन सम्पूर्णको समस्या हाे । त्यसको सकारात्मक समाधानका लागि सबैकाे सहयाेग आवश्यक छ ।’

विगत १८ दिनदेखि सिसडोलका स्थानीयवासीले अवरोध गर्दा र नियमित पानी परिरहँदा जाने बाटो बिग्रिएको भन्दै फोहर उठ्न सकेको थिएन । मंगलबारको बैठकले सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने र सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने भएपछि आजदेखि फोहर व्यवस्थापन हुन थालेको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो ।

लामो समयसम्म फोहर उठ्न नसकेकाले करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको पनि वातावरण विभागले जानकारी गराएको छ । कामपाले गत साउन ३२ गतेदेखि नै सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । सो सूचना सार्वजनिक भएको दुई हप्तापछि फोहर व्यवस्थापनको शुरुआत भएको हो । सिसडोलमा ०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र पाँच सय मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडी फोहर लाने गरिएको छ ।

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।