स्वास्थ्य मन्त्रालयको पार्किङ स्थलबाटै पत्रकार दानिको स्कुटर चोरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पार्किङ स्थलबाटै स्कुटर चोरी भएको छ। सञ्चारकर्मी रोशन दानीको स्कुटर चोरी भएको हो।

कामको सिलसिलामा आईतबार सिंहदरबारस्थित स्वास्थ्य मन्त्रालयमा पुगेका सञ्चारकर्मी दानीको बा ९१ प ९३७७ नम्बरको रातोकालो रंगको डिओ स्कुटर चोरी भएको हो।

मन्त्रालयबाटै चोरी भएको स्कुटर ४ः२० बजेको समयमा सिंहदरबारको गेटबाट बाहिरिएको सीसीटिभी फुटेजमा देखिएको छ। स्कुटरको डिकीभित्र डिएसएलआर क्यामेरा समेत रहेको दानीले बताए।

सीसीटिभी फुटेजमा देखिए अनुसार उक्त स्कुटर ४ः२० बजे सिंहदरबारको गेटबाट बाहिरिएको छ। त्यहाँबाट रामशाहपथ माइतीघरतर्फ गएको देखिन्छ।

घटनाबारे सञ्चारकर्मी दानीले प्रहरीलाई खबर गरिसकेका छन्। मन्त्रालयबाटै स्कुटर चोरी भएपछि प्रहरीले चासो राखेको छ। उक्त स्कुटरमा २ जना सवार भएको देख्न सकिन्छ।

त्यस्तै २ दिनअगाडि स्वास्थ्य मन्त्रालयबाट साइकल पनि हराएको थियो। त्यतिमात्र होइन्, एकहप्ता अघि पत्रकार गणेश विकको मोबाइल समेत चोरी भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै यसरी चोरी हुन थालेपछि सुरक्षा व्यवस्थापन कमजोर भएको जानकारहरु बताउँछन्।

यसरी दिनहुँ मन्त्रालयबाट सवारी साधन लगायताका सामान चोरी हुर्दा सुरक्षा चुनौती बढेर गएको मन्त्रालयकै कर्मचारीहरूले बताएका छन्।