
१२ साउन ०७८, काठमाडौं । मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको आइपीओको निष्काशन मिति तोकिएको छ । मानुषी लघुवित्त वित्तीय संस्थाले साउन २७ गतेदेखि ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको कुल निष्काशन गरिने आइपीओमध्ये ०।५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीलाई छुट्याइएको छ । साथै, १९ हजार ६८८ कित्ता आइपीओ सामूहिक कोषको लागि सुरक्षित गरिएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता आइपीओ सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।
आइपिओमा इच्छुक लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । जसमा न्यूनतम १० कित्ता देखि १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले उल्लेख गरेको छ । यस्तै सानिमा लाइफ इन्स्योन्स कम्पनीले साउन २० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले कुल जारी पुँजी २ अर्बमध्ये ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित आइपीओमा ६० लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओ साउन २० गतेदेखि खुला भइ छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गते बन्द हुनेछ ।