आजदेखि उपत्यकामा मध्यम तथा लामो दूरीका सवारी चल्दै

काठमाडौं– सरकारले काठमाडौं उपत्यकामा आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रुपमा र काम विशेषले आएका सवारीलाई उपत्यका भित्र प्रवेश गर्न दिइने निर्णय भएको थियो ।

सरकारको निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने छ ।

नेपाल सरकार मन्त्रिपरिषदको यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

काठमाडौँ प्रशासनले हिजो एक विज्ञप्ति जारी गरी मन्त्रीपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायातका साधन सञ्चालन गर्न अनुरोध गरिएको हो ।

प्रशासन कार्यालयले अनिवार्यरुपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ । सरकारले जारी गरेको मापदण्डको पूर्ण कार्यान्वयन गर्न आग्रह गरिएको छ । स्रोत: नेपाल टेलिभिजन