अधिग्रहण गर्दा लागत धेरै आउने भएपछि बलम्बु-कलंकीमा फ्लाइओभर निर्माणको योजना

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणाधीन छ। यो तयार भएपछि सवारी जामको समस्या बलम्बु-कलंकी केन्द्रित हुने देखिएको छ। जाम हुन नदिन सरकारले यो क्षेत्रमा फ्लाइओभर निर्माणको योजना बनाएको छ। सडक विस्तार गर्न सक्ने अवस्था नभएपछि विकल्पमा फ्लाइओभर निर्माण गर्ने प्रस्ताव गरिएको हो।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार बलम्बुदेखि कलंकीसम्म फ्लाइओभर निर्माणका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न लागिएको छ। ‘कन्सेप्ट डिजाइन गरिदिन जापानी कम्पनी निप्पन कोइलाई आग्रह गरिएको छ। कम्पनी पनि अध्ययन गरिदिन तयार छ,’ उहाँले भन्नुभयो।

आयोजनाले गरेको सर्भे अनुसार बलम्बुदेखि कलंकीबीचको दुरी करिब ५ किलोमिटर छ। जसमा ४ किलोमिटर फ्लाइओभर  बनाए पुग्छ। १ किमिमा विस्तार नगरे पनि हुनेछ।

शाक्यका अनुसार यो सरकारले अघि सारेको एउटा अवधारणा मात्र हो। ‘यसको प्रारम्भिक सम्भाव्यता अध्ययन अगाडि बढाउन प्रधानमन्त्री कार्यालयबाट निर्देशन आइसकेको छ,’ उनले भने, ‘हामीले सोही निर्देशन अनुसार सम्भाव्यता अध्ययन गर्ने तयारी गरेका हौं।’
यो खण्डमा फ्लाइओभर निर्माणका लागि करिब १३ अर्ब रुपैयाँ लाग्ने र तीन वर्षमा तयार हुने अनुमान छ।

जग्गा अधिग्रहण गर्न नसकिने अवस्था भएपछि फ्लाइओभर निर्माणको योजना बनेको हो। अहिले आयोजनाले बलम्बुको जग्गा अधिग्रहण गर्दा ५२ लाख रुपैयाँ आना तिर्नुपरेको छ। अब जग्गा अधिग्रहण गर्दा ६० लाख रुपैयाँसम्म पर्ने अवस्था छ। ३० लाख रुपैयाँ मिटरमै फ्लाइओभर निर्माण गर्न सकिने शाक्यको भनाइ छ। ‘यसो गर्दा मुआब्जा विवाद हुँदैन। सडक विस्तार गर्दा जग्गा अधिग्रहण र मुआब्जामै अल्मलिने भन्दै  सरकारले यो फ्लाइओभर निर्माणको अवधारण अघि सारेको हो,’ शाक्यले भने ।

शाक्यका अनुसार सडक विस्तार गर्न धेरैको घरजग्गा अधिग्रहण गर्नुपर्छ। ‘यसअघिकै सडक विस्तार गर्दा घरजग्गा अधिग्रहण गिरसकेका छौं,’ उनले भने, ‘यतातिर लाग्दा समय र लागत पनि धेरै पर्न जान्छ, मुआब्जा रकम कति हुन आउँछ भन्ने अन्दाज छैन। कतै पनि खालि जग्गा छैन।’

सुरुङ खन्ने काम २६ महिनामा ४५ प्रतिशत सम्पन्न
आयोजनाका अनुसार हालसम्म मुख्य सुरुङमार्ग खन्ने काम ४५ प्रतिशत सकिएको छ। अहिले नागढुंगा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ। सबै कामको कुल प्रगति भने ३३ प्रतिशत मात्र भएको शाक्यले जानकारी दिए।
दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन्। त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ।

नागढुंगातर्फको नाकाबाट मुख्य सुरुङको ४७४.२० मिटर टनेल खनिएको छ। नौबिसेतर्फको नाकाबाट पनि ४७४.४ मिटर सुरुङ खनिसकिएको छ।

सहायक सुरुङको नागढुंगा नाकाबाट ७९० मिटर र नौबिसेतर्फको नाकाबाट ५७० मिटर खनिसकिएको छ। मुख्य सुरुङको कुल लम्बाइ २ हजार ६८८ र सहायक सुरुङको कुल लम्बाइ २ हजार ५५७ मिटर छ। समग्रमा आजसम्म ४५ प्रतिशत काम सकिएको छ । तोकिएकै समयमा निर्माण सक्ने गरी काम भइरहेको पनि शाक्यले जानकारी  दिए। शाक्यले सुरुङ मार्गदेखि गुर्जुधारासम्म निर्माण भइरहेको पहुँच मार्ग र त्यहाँ निर्माण हुन लागेको फ्लाइओभरले ओगट्ने जग्गाको मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो । स्रोत:- Bizmandu