सत्ता गठबन्धनभित्रै काठमाडौं–१० मा राजन केसी र अञ्जना विशंखे मित्रवत प्रतिस्पर्धा हुने

काठमाडौँ । सत्तागठबन्धनले आसन्न मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरेको छ । काठमाडौं क्षेत्र १० प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’मा सत्तारुढ गठबन्धनका दलहरुबीच प्रतिस्पर्धा हुनेभएको हो ।

काठमाडौं क्षेत्र १० प्रतिनिधिसभामा कांग्रेसका राजन केसी र माओवादी केन्द्रकी अञ्जना विशंखे चुनावी मैदानमा उत्रिएका छन् भने काठमाडौं १० अन्तर्गतको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’मा काँग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलीप महर्जनले मित्रवत प्रतिस्पर्धा गर्ने भएको छन् ।

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरसहित जारी भएको संयुक्त विज्ञप्तिमा काठमाडौं १० क्षेत्रमा ‘मित्रवत’ प्रतिस्पर्धा हुने उल्लेख गरिएको छ ।

यसै गरि साझा उम्मेदवारको सूची सार्वजनिक भए संगै काठमाडौं १० प्रदेश ‘ख’ मा रमा आलेमगर गठबन्धनको साझा उम्मेदवार बनेकी छिन् भने माओवादी केन्द्रले उम्मेदवारी झिकेपछि एकीकृत समाजवादीबाट आलेमगर साझा उम्मेदवार बनेकी हुन् ।