कर र कमिसनले पेट्रोलियम पदार्थको मूल्य दोब्बर

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम रोकिएको छैन । विभिन्न किसिमका कर र कमिसन, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । मूल्य वृद्धिसँगै नेपाल आयल निगमको घाटा पनि बढिरहेको छ ।

 

प्रतिलिटर १२८ रुपियाँ पुगेको पेट्रोलको मूल्य कम्तीमा १४० सम्म पुग्ने अनुमान गरिएको छ । नेपाल आयल निगमलाई प्राप्त पछिल्लो मूल्यसूचीअनुसार १५ दिनमा कुल एक अर्ब २१ करोड रुपियाँ घाटा भएको छ । पेट्रोलमा प्रतिलिटर १० रुपियाँ, डिजेलमा प्रतिलिटर पाँच रुपियाँ र एलपी ग्यासमा प्रतिलिटर ४४२ रुपियाँ घाटा भइरहेको निगमका प्रवक्ता विमितमणि उपाध्यायले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७५ अमेरिकी डलर पुगेको छ ।

 

पेट्रोल डिजलमा खरिद मूल्यभन्दा बढी कर उठाइएको छ । पेट्रोलियम पदार्थको कर र कमिसनका कारणले पनि उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य छन् भने निगम घाटा बेहोर्न बाध्य छ । निगमले प्रतिलिटर ६९ रुपियाँ ८५ पैसामा पेट्रोल खरिद गरेर १२८ रुपियाँमा बिक्री गरेको छ तर पेट्रोलबाट हाल प्रतिलिटर १० रुपियाँ घाटा भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

 

निगमले डिजेल प्रतिलिटर ६४ रुपियाँ ६० पैसामा खरिद गरी १११ रुपियाँमा बिक्री गर्छ ।खरिद गरिएको पेट्रोलियम पदार्थमा विभिन्न कर तथा कमिसन जोडिएका छन् । निगमले आफ्नो प्रशासनिक खर्च भनेर प्रतिलिटर ६० पैसा उठाउँछ । ढुवानी भाडाबापत प्रतिलिटर चार रुपियाँ ५७पैसा लिइन्छ । पम्पहरूलाई कमिसन प्रतिलिटर तीन रुपियाँ ३९ पैसा पेट्रोल र प्रतिलिटर तीन रुपियाँ १२ पैसा डिजेलमा दिइन्छ । पूर्वाधार विकास कर प्रतिलिटर १० रुपियाँ लिइन्छ ।

 

वातावरण प्रदूषण कर प्रतिलिटर एक रुपियाँ ५० पैसा उठाइएको छ । साथै भन्सार शुल्क, सडक मर्मत, आयकर, बैङ्कको ब्याजलगायतका सवाल पनि यसैमा समेटिएको छ । जसका कारण दोब्बर मूल्य तिर्न उपभोक्ता बाध्य छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।