
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ऋण लिएरै सडक तथा सुरूङ मार्गको निर्माण गरिने बताएका छन् ।
थानकोट-कुलेखानी सुरुङ, छहरे-टोखा सुरुङ, खुर्कोट-चियाबारी सुरुङ, हुदीखोला-शक्तिखोर सुरूङका विषयमा चिनियाँ पक्षले अध्ययन गरिसकेकोले निर्माणका लागि एक वर्षभित्र टुंगो लगाउने मुख्यमन्त्री पाण्डे बताए ।
चीनको एसियन इन्फ्रास्ट्रक्चर बैंकबाट १ प्रतिशत ब्याजमा यी सुरूङ तथा विभिन्न रणनीतिक सडक निर्माण गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो। नुवाकोटमा फुटसल उद्घाटनका लागि पुगेका मुख्यमन्त्री पाण्डेले डोजर लगाएर सडक बनाउने प्रवृत्ति हटाएर दीगो सडक निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।