भ्रष्टाचारले थलिँदै स्थानीय तह

काठमाडौं । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीस्थित कच्ची सडकको हिलाम्मे माटोमा रड ओछ्याएर ढलान भयो । सो ढलान बदर गर्नुको साटो पालिकाका इन्जिनियर राधेश्याम यादवले सदर गरिदिए ।

प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो र लेखापाल रामप्रसाद यादवले ठेकेदारलाई सम्झौताअनुसारकै रकम भुक्तानीको चेक हस्तान्तरण गरिदिए ।

सडकमा पक्की ढलानका लागि गाउँपालिकाले आदर्श निर्माण सेवा गाढा–५ सँग जेठ २५ गते भ्याटबाहेक ३४ लाख १७ हजार रुपैयाँमा सम्झौता गरेको थियो । ठेकेदारले हिलाम्मे सडकमा पक्की ढलान गरिरहँदा पनि चुप बस्नु र सम्झौताअनुसारको रकम भुक्तानी दिनुले कार्यालय प्रमुख, प्राविधिक शाखा प्रमुख, योजना शाखा प्रमुख, लेखा शाखा प्रमुखबीच सेटिङ भएको देखिएको स्थानीय सञ्जय यादवले बताए । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।