चन्द्रागिरि –चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरिनेछ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडकमार्गअन्तर्गत चन्द्रागिरि –चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् ।

विभिन्न पर्वहरूका अवसरमा आज राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले चन्द्रागिरि –चित्लाङ खण्डमा ढुङ्गाको व्यापार भइरहेको सुनिएकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम पुनः सञ्चालन गर्ने बताए ।

उनले भने, “चन्द्रागिरिको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म आफूले पहल र वातावरण निर्माण गर्न प्रयत्न गर्नेछु ।” अर्थमन्त्री शर्माले काठमाडौंको सवारी चापलाई कम गर्न चन्द्रागिरि क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहलसमेत गर्ने बताए ।

उनले गरीब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल सम्वतको सुरुआत गर्ने शङ्खधर साख्वाको सपना पूरा गर्न प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरे । “११४२ वर्षअघि सुरु भएको शङ्खधरको अभियान अझै बाँकी छ । गरिबको ऋण मोचन गर्न बाँकी छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु छ”, उनले भने, “शङ्खधरको त्यो बेलाको सपना पूरा गर्न अझै बाँकी छ । त्यो दायित्व हाम्रो काँधमा छ । यस अभियानमा लाग्न म सबैलाई आग्रह छु ।”

शङ्खधर साख्वालाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा राष्ट्रिय विभूती घोषणा गरिएको थियो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मान्यता दिइएको थियो ।