भोलि बिहानैदेखि मापसे चेकिङ, काठमाडौंमा १३ सय ट्राफिक परिचालित हुने

traffic Kathmandu
२ चैत ०७८, काठमाडौं । काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा मनाइने फागु/होलीलाई दुर्घटनारहित बनाउन बाक्लो सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन हुने भएका छन्।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा १ हजार ३ सय ट्राफिक प्रहरी परिचालन गर्ने योजना महानगरीय ट्राफिक प्रहरी महाशाखाले बनाएको छ। होलीका समयमा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चलाउने र दुर्घटनाको जोखिम बढी हुने भएकाले बिहानैदेखि बाक्लो सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले बताउनुभयो।



jibss

महाशाखाले ६८ ठाउँमा चेक प्वाइन्ट राख्ने भएको छ। त्यहाँ मापसेदेखि सवारीको कागजपत्रलगायत चेक गरिनेछ। बिहानैदेखि मादक पदार्थ सेवन चेकिङ हुने एसपी शर्माले बताउनुभयो। त्यस्तै, मोटरसाइकलमा दुई जना भन्दा बढी मानिस बोकेर हिँड्नेलाई पनि प्रहरीको निशानामा पर्नेछन्।

मापसे गरी सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र मोडिफाई वा ठूलो आवाज निकालेर चलाउने चालकलाई कारबाही गरिने छ।