
काठमाण्डौं ।
चन्द्रागिरि नगरपालिकामा २०७२ बैशाख १२ गतेको भुकम्पले क्षति भएका घरहरु हालसम्म पनि नभत्काइँदा धराप बनेका छन् । घर धनीहरुले जोखिम अवस्थामा रहेका घर नभत्काइदिँदा जुनसुकै बेलामा पनि ठूलो मानवीय क्षति हुनसक्ने पाईएको देखिएको छ । चन्द्रगिरि नगरपालिकामा आर्थिक अभावका कारण पनि घरहरुमा टेक्का लगाईएको छ भने कतिपय स्थानीयले जानेर पनि नजानेको जस्तो गरि धराप घरहरु भत्काएका छैनन् । अझै पनि राजधानी लगायतका क्षेत्रमा बैशाख १२ गते गएको भुकम्पको पराकम्पन अझै रोकिएको छैन् । केहि दिनअघि अोखलढुङगा केन्द्रि बिन्दु बनाएर ५.१ रेकटर स्केलको भुकम्प गएको थियो भने चित्लाङ केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक महिना अगाडी इटा भट्टामा काम गर्ने बाबु छोराले ज्यान गुमाएका थिए ।
चन्द्रागिरि नगरमा भुकम्पका कारण क्षतिग्रस्त भएका भाैतिक संरचनाहरू अझै धेरै संख्यामा रहेका छन् । चन्द्रागिरि १ खहरे जाने बाटोमा यस्तै तीन तल्ला भएको घर छ जुन १२ बैशाखको भूकम्पले क्षति पुर्याएपछि सुनसान बनेको छ ।
घरनजिकै भेटिएका स्थानीय भन्दै थिए, ‘बैशाख १२ गतेको भुकम्प पुर्णरुपमा क्षति भएको घर, अहिले ढल्न लागेको छ, कति बेला ढल्छ, कतिलाई मार्छ भन्नै सकिन्न।’ घरधनीले फलामको टेका लगाएर घर जेनतेन अड्याएर राखेका छन्, घर एकातिर ढल्किसकेकाले त्यसको फेदबाट ओहोरदोहोर गर्दा जोखिम मोल्नुपरिरहेको स्थानीय बताउँछन् । त्यस्तै थानकोट,सतुंगल, नैकाप लगायतका स्थानका भित्री गल्लीका धेरै घर बस्नै नमिल्ने गरी चर्किएका छन् । त्यस्ता कतिपय घरमा ज्यान नै जोखिममा राखेर पनि मानिस बस्ने गरेको पाइएको छ । कति संख्यामा जोमिखपुर्ण घरहरू रहेका छन् स्थानीयमा यसको यकिन तथ्याङ्क छैन् ।
पटकपटक भूकम्पका धक्का आइरहेको बेला सानो धक्काले पनि त्यस्ता घरमा क्षति पुर्याउने भएकाले विज्ञले भत्किन लागेका, पिलर तथा बिममा क्षति पुगेका घरमा बस्न नहुने सुझाव दिँदै आएका छन् । सर्वसाधारण भने ज्यान नै जोखिममा राखेर पनि बस्ने ठाउँको विकल्प नहुँदा त्यस्ता घरमा बस्ने गरेका छन् ।
केही ठाउँमा स्थानीयले नै सरकारलाई घर भत्काइदिन आग्रह गरेका छन् । त्यस्ता ठाउँमा सरकारले खतराको चिह्न लगाइदिएको छ । केही स्थानमा भने स्थानीयले जोखिममा रहेका घरबारे प्रहरी प्रशासन तथा अन्य सम्बन्धित पक्षलाई सचेत नगराउँदा मानवीय क्षतिको सम्भावना उच्च देखिन्छ ।
गृहमन्त्रालयले त्यस्ता घरको पहिचान कार्य भइरहेकाले हटाउँदै जाने जनाएको छ । सबैतिर ठूलो संख्यामा नै घर चर्किएको तथा क्षति पुगेकाले सबै सरकारले नै दिन नसक्ने तर सुरक्षाकर्मी त्यसमा लागिपरेको मन्त्रालयको भनाइ छ ।