आयल निगमको मासिक घाटा ५५ करोड

७ मंसिर, काठमाडौं । इन्धनको मूल्य समायोजन नहुँदा आयल निगमको मासिक घाटा ५५ करोड रुपैयाँ पुगेको छ । भारतीय आयल निगम (आईओसी) बाट बढेर आएको मूल्यअनुसार समायोजन नहुँदा निगमको घाटा चुलिएको हो ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहका अनुसार आईओसीबाट आएको पछिल्लो मूल्यसूची अनुसार निगमलाई इन्धन कारोबारमा पाक्षिक २७ करोड ५० लाख रुपैयाँ घाटा लाग्छ ।

हाल डिजेलमा प्रतिलिटर तीन रुपैयाँ ९८ पैसा घाटा छ । यस्तै, प्रतिलिटर पेट्रोलमा १४ पैसा, मट्टतिेलमा १५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा १२ रुपैयाँ र हवाई इन्धन (बाह्य) मा १८ रुपैयाँ ३१ पैसा घाटा छ ।

निगमलाई ग्यासमा निकै ठूलो घाटा देखिएको छ । अहिले प्रतिसिलिन्डर दुई सय ३७ रुपैयाँ ६७ पैसा घाटा रहेको निगमले जनाएको छ ।

१५ नोभेम्बरसम्म पाक्षिक घाटा १० करोड ७५ लाख रहेकामा आईओसीबाट मूल्यसूची बढेर आएपछि नोक्सानी चुलिएको हो ।

गत १६ नोभेम्बरमा प्रतिलिटर पेट्रोल तीन र डिजेल दुई रुपैयाँ बढेर आएको थियो ।

घाटा चुलिएकै कारण निगमले १५ कात्तिकमा इन्धनको मूल्यवृद्धि गरेको थियो । तर, चुनावको समयमा मूल्य बढाउन उचित नहुने बताउँदै सरकारले हस्तक्षेप गरेपछि निर्णय स्थगित गरिएको थियो । तीन महिनायता मूल्य समायोजन भएको छैन ।

भारतमा भन्दा २७ रुपैयाँ सस्तो

निगमका अनुसार पछिल्लो समय नेपाल र भारतबीच इन्धनको मूल्य अन्तर बढेर गएको छ । नेपालमा डिजेलको मूल्य भारतभन्दा प्रतिलिटर २६ रुपैयाँ ८४ पैसा सस्तो छ ।

यस्तै, पेट्रोल भारतभन्दा प्रतिलिटर २२ र हवाई इन्धन (आन्तरिक) ११ रुपैयाँ ६५ पैसा सस्तो छ । हवाई इन्धन (बाह्य) भने भारतभन्दा १२ रुपैयाँ ३८ पैसा महँगो छ ।