एकीकृत नमुना सन्तपुर बस्ती

रौतहट – ‘सहरतिर घुम्न जाँदा मनको कुनामा यस्तो घर आफ्नो पनि भए हुन्थ्यो भन्ने लाग्थ्यो,’ पुस्तौंदेखि फोहोर छाप्रोमा जीवन गुजार्दै आएकी १०६ वर्षीया रमकलिया देवी भन्छिन्, आफ्नै यस्तो घर होला भन्ने सपना पितापुर्खाले पनि देखेका थिएनन्।’

गत साउनसम्म चारैतिर हिलो र गन्हाउने बस्ती थियो । बाढी आउँदा ६ घर हिलोमै भासिए । जिल्ला सदरमुकाम गौर जोडिने राजमार्ग छेवैमा रहेको चन्द्रपुर ८ सन्तपुरको दलितबस्ती सबैको आँखाबाट ओझेलमा थियो।

भदौ मध्यतिर राहत बाँड्न आइपुगेका कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले त्यहाँको कहालीलाग्दो अवस्था देखेपछि पीडा सहन सकेनन् । फोहोरमा नांगै खेलिरहेका दलित बालबालिका, गन्हाउने भइसकेको बस्ती, भत्केका छाप्रामा बसिरहेका विपन्नहरुको कष्टकर जिन्दगीमा परिवर्तन ल्याउन कसरी सकिएला भनेर छलफल गरे । धुर्मुस–सुन्तली फाउन्डेसनले बस्ती बनाउने निर्णय ग¥यो । त्यसपछि दलित बस्तीको चर्चा एक्कासि चुलियो । निर्माण कार्य थालिएको ११४ दिनमा दलितहरुले स्वर्गभन्दा पनि सुन्दर र कल्पना गरेभन्दा धेरै टाढाको घर पाउँदा दंग परेका छ्न् । रमकलिया भन्छिन्, ‘मैले जानेबुझेसम्म मेरा कुनै पनि पितापुर्खाको पक्की घर थिएन।’

२८ वर्षीय जोधी ठाकुर हजामको घर बाढीले भत्किँदा बेघरबार भएका थिए । खाद्यान्न र लत्ताकपडा नाश भएपछि भत्केको घर हेरेर आँसु चुहाउनुबाहेक उनीसँग विकल्प थिएन । वृद्ध मातापितासहितको परिवारलाई छिमेकीको घरमा केही दिन राख्नुपर्दाको असह्य पीडा सम्झँदा ठाकुरको आँखा अहिले पनि रसाउँछ । अब नयाँ घर पाउने भएपछि ठाकुर भन्छन्, ‘बाजेले नै नातिले एउटा राम्रो घर बनाउला भन्ने सपना देखेका थिए । तर त्यो सपना बाजेको देहान्तको दशकपछि धुर्मुस–सुन्तलीले पूरा गरिदिए । स्वर्गबाट मेरा बाजे यो बस्ती देखेर आज खुसी भएको हुनुपर्छ।’

रमकलिया र ठाकुर त उदाहरणमात्र हुन् । धुर्मुस–सुन्तलीले खरको छानोमा सम्पूर्ण पुस्ता गुजार्दै आएका र आफ्नो हैसियतले पक्की घरको कल्पनासमेत गर्न नसक्ने ४७ परिवारलाई आधुनिक घर निर्माण गरिदिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले धुुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट निर्माण गरिएको एकीकृत नमुना सन्तपुर मुसहर बस्तीको साँचो मंगलबार एक समारोहबीच हस्तान्तरण गरेकी छन् । राष्ट्रपति भण्डारीले भवन निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई बस्तीको साँचो हस्तान्तरण गरेकी हुन् । चन्द्रपुर नगरपालिका ८ सन्तपुरमा फाउन्डेसनद्वारा निर्माण गरिएको एकीकृत नमुना बस्तीको साँचो राष्ट्रपति भण्डारीको हातबाट अध्यक्ष माझी भावविभोर भए।

नमुना बस्ती उद्घाटन एवं हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र निर्माणमा सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली) देखाएको सकारात्मक कदमप्रति धन्यवाद दिइन् । उनले यो जोडीबाट शिक्षा लिई अन्य स्थानमा पनि यस्ता कार्यलाई प्रोत्साहन गर्न आग्रह गरिन्।

हिमाल, पहाड र तराईबीचको एकता एवं सद्भाव कायम राखी सामुदायिक हितमा सरकारबाट साझेदारी हुनपर्नेमा जोड दिँदै उनले सरकार र समुदायबीच मैत्री सम्बन्ध भएमा मात्रै विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्न सकिने बताइन् । राष्ट्रपति भण्डारीले गरिब दलित एवं पिछडिएका जनताका लागि राज्यबाट जनता आवासमार्फत घर निर्माणका कार्य भइरहेको स्पष्ट पारिन्।

प्राकृतिक विपत्मा परेका आमनेपाली जनताको हितमा सरकार गम्भीर भई काम गरेमा मात्रै जनता र सरकारबीच मैत्री कायम हुन सक्ने भएकाले राजनीतिक दल र विभिन्न निकायलाई जनहितमा समर्पित हुन उनले आग्रह गरिन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले कल्पना गरेको समतामूलक र न्यायपूर्ण समाजको निर्माणमा यस प्रकारको कार्यले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । बाढीको चपेटामा विपन्न बस्तीमा सन्तुलित आवास बनाउन धुर्मुस–सुन्तलीको यस कार्यले सरकारलाई बल मिलेको उनको भनाइ थियो।

१२ कठ्ठा जग्गामा झन्डै ५ करोड ९५ लाख रुपैयाँ लागतमा ४७ वटा दुईतले चारकोठे घर, मन्दिर, सामुदायिक भवन, प्राथमिक विद्यालय, पार्क, भ्यु टावर, लगायतका ५० भन्दा बढी संरचना निर्माण गरिएको छ । स्थानीयदेखि विदेशमा कला प्रदर्शनमार्फत संकलित रकमबाट नमुना बस्ती निर्माण गरिए पनि अझै ७० लाख रुपैयाँ फाउन्डेसनलाई ऋण लागेको फाउन्डेसनका संस्थापक सीताराम कट्टेलले जानकारी दिए।

आफूलाई ऋण लागे पनि देशविदेशबाट प्राप्त सहयोगका कारण तोकिएको समयभन्दा पहिले नै बस्ती हस्तान्तरण गर्न पाउँदा उनले खुसी व्यक्त गरे । कट्टेलले दिनरात र चाडपर्वसमेत नभनी बस्ती निर्माणका सक्रिय २६१ भन्दा बढी मजदुरललाई धन्यवाद दिए।

कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले ११४ दिनमा आफूले केही गरेको वा नगरेको कुनै थाहै नभएको तर कलाकार कट्टेलले यति थोरै अवधिमा धुर्मुस–सुन्तलीले अद्वितीय काम गरेको बताए।

अर्का हास्यकलाकार हरिवंश आचार्यले धुर्मुस–सुन्तलीको कार्य सबैका लागि प्रेरणादायी भएको बताउँदै उनीहरुका पितापुर्खालाई समेत धन्यवाद दिनुपर्ने बताए।

नमुना बस्ती हस्तान्तरण समारोहमा प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुसाल, सुरक्षा निकायका प्रमुखहरु, सांसदहरु तथा स्थानीय निकायका जनप्रतिनिधि र विभिन्न कलाकारको उपस्थिति थियो।