त्रि.बि.वन विज्ञान संस्थान पोखरामा २६ औँ राष्ट्रिय वन्यजन्तु सप्ताहको तयारी

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान पोखरामा २६औँ राष्ट्रिय वन्यजन्तु सप्ताहको तयारी गरिएको छ ।

हरेक वर्ष वैशाख-१ गते देखि वैशाख-७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताह यो पटक पनि वन, वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गरी मनाउन लागिएको कार्यक्रम संयोजक प्रवेशचन्द्र घिमिरेले जानकारी दिनुभयो।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान, पोखरामा रहेका सक्रिय हरित संस्थाहरू वन्यजन्तु अनुसन्धान तथा संरक्षण समाज, एलुम्नी एसोसिएसन फर् कन्जरभेसन एन्ड डेभलपमेन्ट, वन तथा वातावरणका लागि विद्यार्थी समाज-नेपाल, स्वयंसेवी वातावरण जागरण समूह लगायतका संस्थाहरूको संयुक्त आयोजनामा वैशाख पहिलो साता कार्यक्रम हुन लागेको संयोजक  घिमिरेले बताउनुभयो ।

देश नै वन डढेलोबाट ग्रसित भएको यस समयमा वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरूले वन डढेलो र त्यसले वातावरण तथा वन्यजन्तुमा पार्ने असरबारे नाटक  प्रदर्शन  गर्ने संयोजक  घिमिरेले उल्लेख गर्नुभयो। कार्यक्रममा  वन्यजन्तुबारे ज्ञान दिने हेतुले अन्तरविद्यालय वन्यजन्तु वृत्तचित्र प्रदर्शनीका साथै चित्रकला प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना गरिने आयोजकले बताएको छ । सप्ताहमा आयोजना हुने कार्यक्रमहरूमा स्कुल कलेजका विद्यार्थी र स्थानीय व्यक्तित्वहरूले समेत  सहभागीता जनाउन सक्ने भएका छन् ।

सप्ताह मार्फत वातावरण तथा वन्यजन्तु संरक्षणमा ध्यान दिई यसमा आइपरेका असरहरूको न्यूनीकरणमा सबैजना लाग्नुपर्छ भन्ने  सन्देश जाने विश्वास आयोजकले लिएको छ ।