भारतबाट बढेर आयो इन्धनको मूल्य, निगमको मासिक घाटा एक अर्ब

२० मंसिर, काठमाडौं । भारतबाट आयात हुने इन्धनको मूल्य बढेपछि यसको कारोबारबापत सरकारको घाटा चुलिएको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा नै करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको छ ।

भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको निगमका कार्यवाहक कार्यकारी निर्देशक शुसिल भट्टराइले बताए । यो घाटा मासिक हिसाव गर्दा एक अर्ब ६ करोड रुपैयाँ पुग्छ । यसअघिको मूल्यसूचीअनुसार निगमको पाक्षिक घाटा करीव ५५ करोड रुपैयाँ थियो ।

डिसेम्बरमा भारतीय आयल निगम (आइओसी) बाट प्राप्त मूल्य सूचीमा साविकको भन्दा प्रतिलिटर हवाइ इन्धनमा सात प्रतिशत, डिजेलमा २ प्रतिशत तथा पेट्रोल र खाना पकाउने एलपी ग्यासमा १ प्रतिशत मूल्य बढेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार निगमलाई अहिले सबैभन्दा धेरै घाटा ग्यासमा छ । अहिले ग्यासमा प्रतिसिलिण्डर घाटा ग्यास २ सय ४८ रुपैयाँ ६४ पैसा पुगेको छ । डिसेम्बरअघि निगमलाई प्रतिसिलिण्डर ग्यास विक्रीमा दुई सय ३७ रुपैयाँ ६७ पैसा घाटा थियो ।

त्यस्तै, प्रतिलिटर डिजेलमा ५ रुपैयाँ २५ पैसा र पेट्रोलमा यस्तो घाटा १४ पैसा छ । यसअघि निगमलाई प्रतिलिटर डिजेलमा ३ रुपैयाँ ९८ पैसा घाटा थियो । पेट्रोलको प्रतिलिटर यस्तो घाटा भने साविककै दरमा छ ।

हवाई इन्धन र मट्टीतेलमा भने निगमलाई नाफा छ । पछिल्लो मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर मट्टीतेलमा ११ रुपैयाँ, हवाई इन्धन (बाहृय) मा १० रुपैयाँ १३ पैसा र हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ ४९ पैसा नाफा छ । यसअघि निगमलाई प्रतिलिटर मट्टीतेलमा १५ रुपैयाँ, हवाई इन्धन -बाहृय) मा १८ रुपैयाँ ३१ पैसा र हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ नाफा थियो ।

तर, हवाई इन्धन र मट्टीतेल दुवै इन्धनको माग कम हुने भएकाले त्यसले नाफा -नोक्सानमा त्यति धेरै अन्तर नहुने निगम बताउँछ ।

झण्डै दुई वर्षपछि निगम इन्धन कारोबारमा यति ठूलो घाटामा गएको हो । सरकारले पेट्रोलियममा स्वचालित मूल्यप्रणाली अपनाए पनि पछिल्लो समय त्यसको अभ्यास गर्न नपाउँदा यस्तो घाटा चुलिएको हो । घाटा व्यहोर्न थालेपछि गत १५ कात्तिकमा निगमले मूल्य बढाए पनि सरकारले हस्तक्षेप गरेपछि उक्त मूल्यवृद्धि फिर्ता भएको थियो । स्वचालित मूल्य प्रणाली इन्धनको अन्तर्राष्ट्रिय मूल्य बढ्दा नेपालमा पनि बढ्ने र घट्दा उसैगरी घट्ने प्रणाली हो ।

त्यस्तै, पछिल्लो समय नेपाल र भारतबीचको इन्धनको मूल्यअन्तर अरु बढेर गएको छ । जसअनुसार अहिले नेपालमा प्रतिलिटर डिजेलको मूल्य भारतमाभन्दा २९ रुपैयाँ ९९ पैसा र पेट्रोल २१ रुपैयाँ ४० पैसा सस्तो छ । ह्वात्तै बढ्यो उपभोग

पछिल्लो समय इन्धनको खपत हृवात्तै बढेको निगमका कार्यवाहक कार्यकारी निर्देशक भट्टराई बताउँछन् । उनका अनुसार अहिले डिजेलको दैनिक खपत करीव पचास लाख लिटर -पाँच हजार किलोलिटर) पुगेको छ । त्यस्तै, पेट्रोलको दैनिक यस्तो खपत १४ लाख लिटर (१४ सय किलोलिटर) पुगेको छ ।

सामान्य अवस्थामा पेट्रोलको यस्तो खपत दैनिक १२ सय किलोलिटरमात्र हुने निगम बताउँछ । डिजेल भने सामान्य अवस्थामा दैनिक करीव चार हजार किलोलिटरमात्रै हुने निगमको भनाई छ । ग्यासको दैनिक यस्तो खपत भने करीव ११ सय मेटि्रक टन पुगेको छ ।