राष्ट्रपति भण्डारी भारत प्रस्थान, स्वदेश फर्कँदाको सार्वजनिक बिदा रद्द

काठमाण्डाै, बैशाख ४ ।

पदभार ग्रहण गरेपछिको पहिलो विदेश भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि छिमेकी मुलुक भारत प्रस्थान गरेकी छन् । सोमबार बिहान ३० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी भारत उडेकी हुन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गरे । राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी लगायतको सहभागिता रहेको छ ।

तस्विर साभार इकान्तिपुरबाट ।

राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएकोे थियो । सो राजकीय भ्रमणको पहिलो दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ, यसैबीच चौतर्फी विरोध भएपछि सरकारले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको सार्वजनिक बिदा कटौती गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारी भारत जाने दिने बैशाख ४ र स्वदेश फर्कने दिन बैशाख ८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।