राष्ट्रिय जनमाेर्चाका सांसद याे देशका महान नायक : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पार्टीको प्रत्यक्ष निर्देशनमा काम गरेका कारणले नै राष्ट्रिय जनमोर्चाका सांसदहरूको छवि निश्कलङ्क भएको बताउनु भएको छ । राजधानीमा प्रदेश समानुपातिक सांसदहरूलाई अनौपचारिक बधाइ दिदै अध्यक्ष केसीले सो धारणा व्यक्त गर्नु भएको हो । राजमो केन्द्रीय सचिव हिमलाल पुरीद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा अध्यक्ष केसीले भन्नु भयो– “पार्टीको प्रत्यक्ष्ँ निर्देशनमा काम गरेकाले राजमोका सांसदहरूको छवि स्वच्छ र निश्कलङ्क भएको हो ।” “जब जब सांसदहरू पार्टीको निर्देशन विपरीत जान्छन्, तब तब समस्या देखा पर्दछ” केसीले अन्य पार्टीका सांसदहरू भ्रष्ट हुनुमा र राजमोका सांसदहरू निश्कलङ्क हुनुमा यही भिन्नता रहेको ठोकुवा गर्नु भयो । “२०५१ सालदेखि राजमो संसदमा जान सुरु गरेको हो” केहीले अगाडि भन्नु भयो– “तर हाम्रा अहिलेसम्मका कुनै पनि सांसदहरूको छवि नराम्रो छैन । अहिलेसम्म राजमोले राम्रै इज्जत कमाएको छ ।” पूर्व उपप्रधान सहकारी तथा गरिबी निवारण मन्त्री समेत रही सक्नु भएका केसीले स्मरण गर्नु भयो– “नेपालमा सांसद हुनु भनेकै धन–सम्पत्ति जोड्नका लागि हो । मलाई पनि धेरै पटक प्रलोभनहरू आए । सांसदलाई भ्रष्ट गराउने धेरै तरिका छन् । तर राजमोका सांसदहरू कुनै पनि प्रकारको प्रलोभनमा फसेका छैनन् र फस्नु हुन्न ।” उहाँ अहिले प्रदेशमा निर्वाचित हुनु भएका सांसदहरूलाई पनि राजमोको उपर्युक्त विरासत कायम राख्न अनुरोध गर्नु भयो । उहाँले थप्नु भयो– “संसदभित्र पार्टीको निर्णय गर्न धेरै गाह्रो छ । तर पार्टीको निर्देशनमा बसेर, पार्टीसित सल्लाह गरेर चल्दा यी अप्ठ्याराहरू पार गर्न सकिने छ ।” उहाँले गतकालमा सांसदहरूले पजेरो चढेको, रातो पासपोर्ट दुरूपयोग गरेको, पुरुष सांसदले सुत्केरी भत्ता खाएको जस्ता विकृति मच्चाए पनि राजमोका सांसदहरू स्वच्छ र निश्कलङ्क हुनुमा राष्ट्रिय जनमोर्चाको आफ्ना सांसदहरूलाई प्रत्यक्ष निर्देशन दिने र नियन्त्रणमा राख्ने कार्यशैलीले काम गरेको दावी गर्नु भयो । निर्वाचन आयोगले प्रदेश सभाका समानुपातिकतर्फका सभासदलाई सोही दिन प्रमाण पत्र वितरण गरेको थियो । त्यही अवसर पारेर प्रदेश नं. ५ का समानुपातिक सभासद तारा जिसी र प्रदेश नं. ४ का समानुपातिक सभासद पियारी थापा (सुप्रभा)लाई राजमो केन्द्रीय कार्यालयले अनौपचारिक कार्यक्रम राखेर बधाइ दिएको थियो । कार्यक्रममा सर्वप्रथम राजमो अध्यक्ष केसीले दुवै सभासदहरूलाई अबिर, खादा ओढाएर बधाइ दिनु भएको थियो । त्यसपछि राजमोका अन्य पदाधिकारी र उपस्थित प्रतिनिधिहरूले सभासदहरूलाई अबिर लगाई दिनु भएको थियो । कार्यक्रमको अन्तमा प्रदेश समानुपातिक सभासदहरू तारा जिसी र पियारी थापाले सङ्क्षिप्त मन्तव्य राख्दै आफूहरूले पार्टीको छवि स्वच्छ र निश्कलङ्क राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।