साउन १ गतेदेखि निर्वाचन कार्यालय जानुस् फोटो खिचाउनुस्, फोटो सहितको मतदाता परिचय पत्र लिनुस्

चन्द्रागिरि ।

निर्वाचन आयोगले आउँदो साउन १ देखि मतदाता नामावली अद्यावधिक गर्नेभएको छ । अब हुने प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने तयारी आयोगले गरेको जनाएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो । उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले साउन १ गतेपछि जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि साउन १ गतेदेखि ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु हुनेछ । नागरिकलाई नागरिकता लिएर आफ्नो जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम लेखाउन सबै योग्य नागरिकलाई आयोगले आग्रह पनि गरेको छ ।

यसअघि फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएकाले भने पुनः नाम लेखाउनुनपर्ने पनि आयोगले स्पष्ट पारेको छ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा नगर्दासम्म मतदाता नामावली अद्यावधिक जारी रहने आयोगले जनाएको छ ।

अहिले मतदाता नामावलीमा नाम लेखाएका मतदाताले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भने मतदान गर्न पाउने छैनन् ।