सेना दिवस मनाइँदै

नेपाली सेनाले मंगलबार सेना दिवस मनाउँदै छ ।

गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले मंगलबार शिवरात्रिको दिन मुलुकभर ‘सेना दिवस’ मनाउन लागेको हो ।

सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सेनाले सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गर्दैछ ।

सैनिक मुख्यालय जङ्गीअड्डा मातहतमा रहेका पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछ ।