भरतपुरमा फोहोरबाट मोहर खोजिदै

220
garbage in Bharatpur

भरतपुर। घरबाट निस्कने फोहोर हरेक व्यक्तिका लागि समस्याका रूपमा रहेको हुन्छ । एक दिन घरबाहिर फाल्न पाइएन भने घरमै दुर्गन्ध आउँछ ।

अझै सडक छेउछाउ तथा नदी किनारमा जताततै फालिएका यस्ता फोहोरले दुर्गन्ध मात्रै फैलाएको छैन, वन र वन्यजन्तुमा समेत गम्भीर असर परिरहेको छ । तर यही फोहोरलाई मोहरमा परिवर्तन गर्न जान्नेका लागि राम्रो आम्दानीको स्रोत बन्ने गरेको छ ।

भरतपुर महानगर वडा नम्बर ३ मा डेरा गरी बस्ने लक्ष्मी गुरुङ गत पाँच वर्षदेखि फोहोरको डङ्गुुरमा मोहर कमाउन व्यस्त हुनुहुन्छ । उहाँले आफ्नो घर खर्च चलाउन र छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन यो आम्दानीले सहज भएको प्रतिक्रिया दिनुहुन्छ ।

“बाहिर काम सजिलै पाइँदैन । पाइहाले पनि हामी नपढेकाले महिनाभरी ज्यालादारी गरेर १० हजारदेखि १५ हजार रुपियाँ कमाउन मुस्किल छ”, फोहोरमा कवाडी समान खोजेर बेच्दा राम्रो आम्दानी हुने तर्क गर्दै उहाँले भन्नुभयो, “हामीले यहाँ ९कवाड समान सङ्कलन० दिनमै तीन चार हजार रुपियाँ जम्मा गरिरहेका छौँ ।” लक्ष्मीको भनाइलाई आधार मान्दा न्यूनतम दैनिक तीन हजारको कमाइ भनेको महिनामा ९० हजारको कमाइ हो ।

यो रकम निजामती सेवाका सचिवको तलब भत्ताभन्दा बढी हो । “मैले घरमा छोराछोरी धरालो हेर्नेलाई पनि महिनामा पाँच छ हजार त तलब दिएर राखेको छु”, उहाँले भन्नुभयो, “आफू बिहानै उठेर फोहोरको थुप्रोमा आउनुपर्छ ।

अनि घरमा भएका बच्चालाई खाना खुवाई विद्यालयसम्म लैजाने र बेलुका विद्यालयबाट ल्याएर खाजा खुवाउने धरालेको काम हुन्छ ।”

यो खबर आजको गोरखपत्र दैनिकमा छ ।