आइतबारबाट मनकामना केबुलकार चल्ने

१९ भदौं । कोरोना संक्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।

मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । ‘यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्छ,’ उनले भने ।

चितवनको इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गरेका छन् । भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेका श्रेष्ठले बताए । मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको श्रेष्ठले जानकारी दिए ।