१५ दिनमै पाँचपटक बढ्यो सिमेन्ट र छडको मूल्य

तपाई सिमेन्ट र छड प्रयोग गरेर घर बनाउँदै हुनुहुन्छ ? या बनाउने तयारी गर्दै हुनुहुन्छ ? यस्तो तयारीमा हुनुहुन्छ भने अब तपाईको लागत बढ्ने र आर्थिक जोहो गर्नुपर्ने छ ।

किनभने, निर्माण व्यवसायीहरूले १५ दिनकै अवधिमा पाँच पटकसम्म मूल्यवृद्धि गरेको पाइएको छ । मूल्यवृद्धिसँगै नयाँ घर बनाउने तयारीमा रहेकाहरु मारमा परेका छन् ।

घर निर्माणमा प्रयोग हुने सिमेन्ट, छड लगायत निर्माण सामग्रीको मूल्य हटात बढेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले यसबारे अनुगमन गरेको छ ।

विभागले तयार गरेको अनुगमन प्रतिवेदनले व्यवसायीले अनियमित ढंगले मूल्यवृद्धि गराएको निश्कर्ष निकालेको छ । अध्ययन प्रतिवेदन अनुसार व्यवसायीले १७ प्रतिशतसम्म मूल्य वृद्धि गरेका छन् ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सात प्रतिशतको मूल्यवृद्धि घोषणा गरेर दोब्बरसम्म बढाएको बताए ।

भारत र चीन लगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै करीव एक महिनाअघि निर्माण व्यवसायीहरूले सिमेन्ट र छडको मूल्यवृद्धि गरेका थिए ।

ती निर्माण समाग्रीको अस्वाभाविक मूल्यवृद्धि भएपछि विभागले धादिङका उद्योग र बजारबाट गरिएको मूल्य संकलनका आधारमा प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनमा सिमेन्टमा ७ देखि १७ प्रतिशतसम्म र फलामे छडमा ५ देखि ९ प्रतिशतसम्म मूल्यवृद्धि गरिएको उल्लेख छ ।

विभागका अनुसार अम्बे सिमेन्टले सबैभन्दा बढी मूल्यवृद्धि गरेको छ । उक्त सिमेन्टले १७ प्रतिशत मूल्यवृद्धि गरेको छ । त्यस्तै, सालिमार ओपिसी सिमेन्टले १६ प्रतिशत, शिवम् सिमेन्टले १५ दशमलव दुई प्रतिशत, हेटौंडा सिमेन्टले १३ प्रतिशत, निर्माण सिमेन्टले १२ दशमलव पाँच प्रतिशत, अग्नी सिमेन्टले १० दशमलव पाँच प्रतिशत र मारुती सिमेन्टले ६ दशमलव चार प्रतिशत मूल्यवृद्धि गरेको देखिएको छ ।त्यस्तै, हामा छडले ८ दशमलव सात प्रतिशत, जगदम्बा छडले सात प्रतिशत र शाखः छडले ४.७ प्रतिशतसम्म मूल्यवृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ ।

उद्योगीहरूले क्लिङकर, डिजेल, विद्युत महसुल, ढुवानी, कोइला, जिप्सम, र बढ्दो खर्च, बैंकको ब्याजमा भएको मूल्यवृद्धिले वस्तुको मूल्य बढाउनुपरेको दावी गरेका छन् ।

उद्योगले गरेको मूल्यवृद्धि तथा भाडामा भएको मनोमानी मूल्यवृद्धिले उपभोक्ता मूल्यमा सिमेन्ट प्रतिबोरा एक सय २० रुपैयाँसम्म र डन्डीमा प्रतिकिलो १० रुपैयाँसम्म मूल्यवृद्धि भएको पाइएको विभागले जनाएको छ ।

उद्योगीले बढाएको मूल्य अस्वभाविक भएको दावी गर्दै विभागले साविककै मूल्य कायम गर्न सुझाव दिएको छ । त्यस्तै, आवश्यक कच्चा पदार्थको उपलब्धता र आयातमा सजहता कायम गर्नुपर्ने, सरकारी स्वामित्वका उद्योगको क्षमता विकास र उत्पादन बढाउन पनि विभागले सुझाव दिएको छ ।

ट्रक व्यवसायीहरूले इन्धनको मूल्यवृद्धिको बहानामा अवैज्ञानिक रुपमा पाँच प्रतिशतसम्म भाडा वृद्धि गरेको विभाग बताउँछ ।

मूल्यवृद्धिका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भनिए पनि आफैं क्लिङ्कर उत्पादन गर्ने उद्योगले पनि मनोमानी मूल्य बढाएको प्रतिवेदनमा जनाइएको छ ।

अनलाइन खबर