भदौ २० मा परिक्षा सञ्चालन हुदै सवारी साधन भने यातायात कार्यालयले तोके बमोजिम हुने

१७ भदौ, काठमाडौं । आगामी भदौ २० गतेदेखि यातायात व्यवस्था कार्यालयहरुले देश भरी सवारी चालक अनुमती पत्रका लागि लिखित परिक्षा दिएर बसेका वा एक पटक अनुउत्तिर्ण भई पुर्न परिक्षा दिन बसेकाहरुका लागि सेवा सुचारु गर्ने भएको छ ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द हुदै आएको थियो ।

कोभिड–१९ संक्रमणको विशेष अवस्थामा यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८ स्वीकृत भएपछि यातायात व्यवस्था कार्यालयहरुले परीक्षा सुचारु गर्न लागेको यातायात व्यवस्था विभागका कर्मचारीहरुले जनाएका छन् ।

मापदण्डमा के छ व्यवस्था ?

परीक्षार्थी स्वयमले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पीउने पानीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । भिडभाड नगरी भौतिक (सामाजिक) दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको शारीरिक तापक्रम मापन गर्नुपर्ने लगायतका व्यवस्था पनि गरिएको छ ।

प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउने, कोभिड–१९ संक्रमण भएका परीक्षार्थीहरुलाई निको भएपछि निजको रिपोर्ट हेरेर प्राथमिकतापूर्वक परीक्षामा सामेल गराउने लगायतका व्यवस्था पनि मापदण्डमा छ ।

मापदण्डअनुसार परीक्षा सुरु हुनु अगावै परीक्षार्थीहरुलाई उनीहरुको ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिनेछ । यसरी तोकिएको समयमा उपस्थित हुन नसक्ने परिक्षार्थीलाई अनुपस्थित भएको मानिने रसोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने नियम बनाइएको छ ।

परिक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई मात्र सहभागी गराउने भनिएको छ । कार्यालयले खुल्ला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नु पर्ने मापदण्डको व्यवस्था छ ।

हाल सुरु हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रणाली पुरानो निर्देशिका २०७४ बमोजिम हुनेछन् । परिक्षार्थीले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सवारी साधन यातायात व्यवस्था कार्यालयहरुले तोके बमोजिम हुनेछ । व्यक्तिगत रुपमा ल्याउन पाउने छैन ।

सवारी साधनको व्यवस्था

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ लागू भए पनि सवारी साधन भने यातायात व्यवस्था कार्यालयले तोके बमोजिम हुनेछ । सवारी साधन कार्यालयले व्यवस्थापन गर्ने भनी निर्णय गरी २०७८÷०४÷०७ गते संशोधन भएको र व्यक्ति स्वंयमले सवारी ल्याउने प्रवधान भने हटाइएको छ ।

प्रश्नोत्तर संग्रहबाटै परीक्षा

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ लागू भएमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षामा नयाँ नियमहरु लागू हुनेछन् ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।

लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी ४÷४ अंकका जम्मा २५ वटा वस्तुगत बहुउत्तर प्रश्नहरु सोधिने छन् ।

त्यही संग्रहभित्रबाट २५ वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अंक ल्याउनुपर्नेछ ।