अब ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारलाई

214

काठमाडौँ । अलपत्र परेका ज्येष्ठ नागरिकहरुलाई पालनपोषण गर्ने जिम्मेवारी पनि स्थानीय सरकारलाई दिइएको छ । संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिक सम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले पालनपोषण नपाएका वा अलपत्र परेका ज्येष्ठ नागरिकहरुको पालनषोषणको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिने सहमति भएको हो ।

समितिले उनीहरुको सम्पत्ति पनि स्थानीय तहले नै आफ्नो स्वामित्वमा ल्याई सम्बन्धित ज्येष्ठ नागरिकको पालनपोषणमा खर्च गर्ने व्यवस्था गर्न पनि सरकारलाई सहमति दिएको छ ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकहरुले आफ्नो सम्पत्ति आफूले चाहेको व्यक्तिलाई दिन पाउने प्रावधान पनि विधेयकमा राखिएको स्पष्ट पार्नु भयो । उहाँले ज्येष्ठ नागरिकहरुको चल/अचल सम्पत्ति उनीहरुलाई पालनषोषण गर्ने जोकोहीलाई पनि दिन सकिने व्यवस्था गर्ने पनि स्पष्ट पार्नु भयो । यस अघि ज्येष्ठ नागरिकको सम्पत्तिको भोगचलन हकवालाले मात्रै गर्ने कानुनी व्यवस्था थियो ।