अाज नागपञ्चमी

श्रावण शुक्ल पञ्चमी। सनातन हिन्दु धर्मावलम्बीहरू बिहीबार नागपञ्चमी पर्व मनाउँदैछन्। यो दिन बिहान मूलढोकामा नागको तस्विर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। शास्त्रमा अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नागका आठ प्रकारका नाग हुने बताइएको छ।



jibss

विधिपूर्वक नागको पूजा गर्नाले नागहरू प्रसन्न हुने र वर्षभरि विषालु जीवहरूको भय नहुने विश्वास गरिछ। साथै सर्प, बिच्छी खजुर आदि विषालु जीवको पनि पूजा गरिन्छ।

चट्याङले घरमा हानि नोक्सानी नपुर्‍याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गर्ने परम्परा पनि छ।

यो दिन गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यु, दुध आदिले धारा दिई दुबो, धानको लाबा आदि वस्तु चढाई गन्ध, पुष्पाले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रहरूमा छ।

हिन्दुधर्ममा एकातिर भगवान् शिवको गहनाको रूपमा सर्प रहेका छन् भने भगवान् विष्णुको आसनको रूपमा शेषनाग रहेका छन्। यसैले हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिएको छ। कृषिप्रधान मुलुक भएकाले सर्प र मानिसबीचको दूरी हटाउन यस पर्वको महत्त्व छ।

नाग वा सर्पको बासस्थानको रूपमा रहेका पानीका स्रोतलाई स्वच्छ र पवित्र राख्न यो दिनले सन्देश दिन्छ।