
चन्द्रागिरि ।
तरलता अभावले थलिएको उपत्यकाको घरजग्गाको कारोबारमा सुधार आउन सकेको छैन।
उपत्यकाका ८ वटा मालपोत कार्यालयबाट उठ्ने घरजग्गाको राजस्वमा सुधार आउन सकेको छैन । माघदेखि लगातार घटेको घरजग्गाको कारोबारमा बैशाखसम्म पनि सुधार आएन। उपत्यकाका आठ मालपोत कार्यालयमध्ये डिल्लीबजार,लगनखेल र टोखाको राजस्वमा उतारचढाब रहेपनि अरुको लगातार ओरालो लागेको छ ।
साँखु, मनमैजु, कलंकी, चावहिल र भक्तपुर मालपोतको घरजग्गाको राजस्व निरन्तर घटेको छ । डिल्लीबजार र लगनखेल मालपोत कार्यालयले फागुनको तुलनामा चैत्रमा राजस्व बढेको थियो । तर बैशाख महिनामा भने दुवैको राजस्व घटेको छ। टोखा मालपोत कार्यालयबाट उठ्ने राजस्व भने फागुनको तुलनामा चैत्रमा घटेको थियो । बैशाख महिनामा भने राजस्व बढेको छ।
टोखा मालपोत कार्यालयको राजस्व करिव ८० लाख रुपैयाँले बढेको हो । घट्दो क्रममा रहेका मालपोतको राजस्व भने डिल्लीबजारको तीन करोड रुपैयाँ, लगनखेलको दुई करोड रुपैयाँ, कलंकीको झन्डै चार करोड रुपैयाँ र भक्तपुरको पनि तीन करोड रुपैयाँले घटेको छ।साँखु र मनमैजुको भने एक/एक करोड रुपैयाँ भन्दा बढीले राजस्व घटेको छ ।
बैशाख महिनामा डिल्लीबजारको १६ करोड ९५ लाख रुपैयाँ, टोखाको दुई करोड चालिस लाख रुपैयाँ, साँखुको दुई करोड सात लाख रुपैयाँ, मनमैजुको तीन करोड तीन लाख रुपैयाँ, कलंकीको सात करोड ५५ लाख रुपैयाँ, चावहिलको नौ करोड १५ लाख रुपैयाँ, लगनखेलको ११ करोड १९ लाख र भक्तपुरको छ करोड तीन लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
बिजमाण्डुबाट ।