
चन्द्रागिरि ।
दुग्ध विकास संस्थान (डीडीसी)ले भदौ १ गतेदेखि लागू हुनेगरी दूधको मूल्यवृद्धि गरेको छ । पशुपक्षी विकास मन्त्रालयको सहकार्यमा प्रशोधित दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको डीडीसीले जानकारी दिएको छ । यससँगै अब प्रतिलिटर दूधको मूल्य ६४ बाट बढेर ७० रुपैयाँ पुगेको छ ।
आधा लिटर दूधको मूल्य भने ३२ बाट बढाएर ३५ रुपैयाँ पुर्याँइएको छ । पछिल्लो ३ वर्षदेखि दूधको मूल्यवृद्धि हुन नसक्दा किसान, दुग्ध व्यवसायीलगायत मर्कामा परेकाले दूधको मूल्यवृद्धि गर्नुपरेको डीडीसीका महाप्रबन्धक गङ्गा तिमल्सिनाले बताए । मन्त्रालयको स्वीकृतिमै दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको उनको भनाइ छ । मन्त्रालयका अनुसार डीडीसीले प्रतिलिटर ८ रुपैयाँ बढाउने प्रस्ताव अघि बढाएको थियो । तर, सबै विषयलाई ध्यानमा राख्दै ६ रुपैयाँ मात्र मूल्यवृद्धि गरिएको मन्त्रालयका प्रवक्ता श्याम पौडेलले बताए ।
दूधको मूल्य वृद्धि भएसँगै किसानलाई निर्धारित मूल्यको ६९ प्रतिशत र व्यवसायीलाई ३१ प्रतिशत रकम प्राप्त हुने व्यवस्था रहेको डीडीसीले बताएको छ । अहिले बढेको दूधको मूल्यबाट किसानलाई प्रतिलिटर ४ रुपैयाँ १६ पैसा उपलब्ध गराउने सरकारको तयारी छ ।
यसअघि २०७१ पुसमा दूधको मूल्यवृद्धि भएको थियो । त्यतिबेला दूधको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढाइएको थियो । सरकारले हाल किसानलाई ४ फ्याट र ८ एसएनएफ मापदण्ड भएको दूधको मूल्य प्रतिलिटर ४४ देखि ४७ रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।
यसैगरी भदौ १ गतेदेखि नै लागू हुनेगरी घ्यूको पनि मूल्यवृद्धि भएको छ । डीडीसीका अनुसार प्रतिकेजी घ्यूको मूल्य १ सय बढाएर ९ सय रुपैयाँ कायम गरिएको छ । मूल्यवृद्धि गर्नुपूर्व घ्यूको मूल्य प्रतिकेजी ८ सय रुपैयाँ थियो । साथै, मिठाईको पनि १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने जानकारी डीडीसीले दिएको छ ।