कुकुरको विशेष पूजा गरी आज कुकुर तिहार मनाइँदै

307

यमपञ्चकको दोस्रो दिन मङ्गलबार कुकुर पूजा गरी मनाइँदैछ ।

मानिससँग निकटतम सम्बन्ध राख्ने आज्ञाकारी जनावरका रूपमा कुकुरलाई लिइन्छ । अपराध अनुसन्धान, सर्कसजस्ता जटिल कार्यमा पनि कुकुरको उपयोग हुँदै आएको छ ।

यमपञ्चक (तिहार)को पहिलो दिन सोमबार कागलाई पूजा गरी मनाइयो ।

कुकुरलाई पौराणिक शास्त्रमा भैरवको वाहन मानिएको छ । ज्योतिष डा. सुनील सिटौलाका अनुसार यात्रामा जाँदा कुकुरले चप्पल जुत्ता मुखमा च्यापेको देख्नेको कुनै काम नबन्ने, कुकुरले भित्तामा नङ्ग्राले कोतरेमा उक्त घरमा चोरी हुने, पश्चिम दिशामा फर्केर एकोहोरो कराएमा आगलागी वा दुर्घटना हुने र मानिसको नजिक लुटपुटिएमा शुभफल पाइन्छ भन्ने ज्योतिष शास्त्रमा कुकुरको महिमा वर्णित छ ।

डा. सिटौलाका अनुसार कात्तिक कृष्ण चतुर्दशी तिथिको यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन झिसमिसेमा तेल घसेर स्नान गर्ने र शुद्ध भएपछि जरा, माटो र काँडासहितको अपमार्गको बोटलाई टाउको वरिपरि घुमाएर नदी तलाउमा बगाउँदै नर्क कटाउने वा पाप पखाल्ने चलन छ ।